जिल्ला सदरमुकाम सिमकोटमा गाडी ल्याएकोमा ठेकेदार र चालकलाई सम्मान

सिमकोट,हुम्ला

हरित सडक सुरु भएको १९ वर्षपछि ट्र्याक ओपनिङसहित ट्र्याक्टर पुगेपछि हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा समाहित भएको छ ।
आव ५३/५४ मा सुरु भएको हिल्सा-सिमकोट मोटरबाटोको च्या छहरा खण्डको काम पूरा नभएकाले सल्ली खोलासम्म हिल्सा-सिमकोट र सल्लीदेखि लिमी-लाप्चा सडक हुँदै शनिबार सिमकोटमा ट्र्याक्टर पुगेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख विजयकुमार थापाले बताए ।

नियमित रूपमा गाडी चल्न एक महिना लाग्ने बताउँदै आयोजना प्रमुख थापाले भने, ‘लामो समयदेखिको प्रयास सम्पन्न भएको छ । शनिबार ट्र्याक खोल्दै ट्र्याक्टर र एक्साभेटर सिमकोटमा पुगेपछि हुम्ला चीनको सिमानाबाट सडक सञ्जालमा जोडिएको छ ।’

आव २०५३/५४ मा हरित सडकबाट सुरु भएको बहुप्रतीक्षित ९० किलोमिटरको हिल्सा-सिमकोट मोटरबाटोअन्तर्गत तुम्कोटको पुल बन्न ढिलाइ हुनु र च्या छहरा खण्डको १३ किलोमिटर चट्टान फोड्न समय लाग्ने हुँदा उत्तरी क्षेत्रको ९० किलोमिटर लिमी-लाप्चा सडकमार्फत सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएको हो ।

लिमी-लाप्चा-सिमकोट सडकअन्तर्गत ९० किलोमिटर लामो सडक एक्साभेटर (बे्रकर) र बकेटको सहायताले ट्र्याक खोल्ने काम सकिएसँगै सिमकोटको लाग्नाबाट सामान ल्याएर सदरमुकाम सिमकोट बजारमा पुर्‍याइएको छ ।

हरित सडक सुरु भएको १९ वर्षपछि सिमकोट ट्र्याक ओपनिङसहित ट्र्याक्ट पुगेपछि सिमकोट सडक सञ्जालमा समाहित भएको छ ।

सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएसँगै दशकौंदेखि सडकको महिमा गाएर बसेका माथिल्लो हुम्लाका बासिन्दाको सडक सपना साकार भएको सिमकोटस्थित मानसरोवर नमुना उच्च माध्यमिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले बताए । आफू विद्यालयमा पढ्दादेखि नै हिल्साबाट गाडी आउँछ रे भन्ने सुनेका एमाले अध्यक्ष दल रावलले  भने, ‘यत्रो वर्षसम्म आज आउला, भोलि आउला भनेर दिन गन्दागन्दै निराश भएका थिए । सिमकोटमा ट्र्याक्टर पुगेसँगै उनीहरूमा निकै आशा पलाएको छ । सिमकोट सडकसँग जोडिएसँगै एक अध्याय पूरा भए पनि राष्ट्रिय राजमार्गसँग जोड्न जिल्लाका सबै दल एक भएर कर्णाली करिडोरलाई प्राथमिकता दिनुपर्छ ।’

मुचुको तुम्कोटबाट हिँडेको ट्र्याक्टर सिमकोटमा आएको देखेपछि अब गाडी देखेर मर्ने सपना पूरा भएको सिमकोट ३ की छत्तकला रोकायाले बताइन् ।
सिमकोट माथिल्लो गाउँकी सविता रोकायाले सिमकोटमा ट्र्याक्टर मात्रै चल्दा पनि दाउरा र ढुंगा ल्याउन निकै सहज हुने प्रतिक्रिया दिइन् । चीनको स्वशासित क्षेत्र तिब्बतबाट यो सडक सिमकोटमा जोडिएकोमा उत्साहित भएका कांग्रेस जिल्ला सभापति जयपति रोकायाले भनिन्, ‘ट्र्याक खोल्ने कामले जिल्लाकै सपना साकार नभए पनि प्रगतिको एक अध्ययय पूरा भएको छ ।’ हिल्सा-सिमकोट र लिमी-लाप्चाले उत्तरी क्षेत्रबाट आउने सामग्रीमा केही सहज हुने स्थानीय विकास अधिकारी लोकबहादुर सुनार बताउँछन् ।

‘अब राष्ट्रिय राजमार्गसँग जोड्न जिल्ला विकास समितिले दक्षिणपूर्वको बाटो निर्माणकार्यलाई प्राथमिकता दिनेछ’, उनले भने । हिल्सा-सिमकोट र लिमी-लाप्चा सडकअन्तर्गत ४ खण्डको ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर सोनाम लामाले ठेक्का पूरा गर्दा आफूलाई घाटा भए पनि हुम्लावासीको सडक सपना पूरा भएकोमा निकै सन्तुष्ट भएको प्रतिक्रिया दिए । लामाले अब छिट्टै दोहोरो ट्र्याक खुलाउने काम हुने बताए ।

ठेकेदार र चालकलाई सम्मान

जिल्ला सदरमुकाम सिमकोटमा गाडी ल्याएको भन्दै जिल्लाका राजनीतिक दल र स्थानीयले सूर्य कन्स्ट्रक्सन प्रालिका प्रमुख र गाडी चालकलाई सम्मान गरेका छन् । शनिबार ठेकेदार र चालकलाई खादा र अबिरजात्रा गरेर सम्मान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद सिटौलाले बताए ।