प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग – ‘नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास – एमाले

वैशाख १७/ एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याएको आरोप लगाएको छ । 

एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको भर्त्सना गर्दै सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरेको बताए । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास भएको छ,’ उनले भने, ‘एमालेले त्यसविरुद्ध डटेर सामना गर्छ ।’

भट्टराईले कार्की योग्य, निडर र क्षमतावान रहेको बताउँदै सरकारले आम नेपाली महिलामाथि नै अपमान गरेको बताए । निर्वाचन आयोग, न्यायालयलगायत संवैधानिक निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै सरकारले अलोकतान्त्रिक र अधिनायकवादी शासनको पूर्वअभ्यास गरेको उनले आरोप लगाए ।

एमाले नेता एवं पूर्वकानुन मन्त्री अग्नि खरेलले कार्कीविरुद्धको महाअभियोग दुर्भाग्यपूर्ण तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास भएको टिप्पणी गरे । ‘राज्य संयन्त्रलाई बिफल पार्ने प्रयास हो,’ उनले भने, ‘अदालतमा आईजीपी प्रकरणको मुद्धा चलिरहेको छ, त्यही मुद्धा हेरिरहेको प्रधानन्यायाधीशविरुद्ध आबेश, उत्तेजना र मनोगन आधारमा महाअभियोग ल्याइएको छ । चुनावको मुद्धालाई डाइभर्ट गर्न र चुनाव रोक्ने अभिप्रयाले ल्याइको हो ।’

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग शुभसंकेत नभएको बताए । उनले विधि र प्रक्रियाका आधारमा पनि सरकारले उपयुक्त कदम नचालेको टिप्पणी गरे ।