सुडान काण्डमा नेपाल प्रहरीका ३ पूर्व महानिरिक्षक भ्रष्टाचारी ठहर

वैशाख १७/ सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन पूर्व महानिरिक्षकहरुलाई भ्रष्टाचारी ठहर गर्दै २ बर्षसम्मको कैद फैसला सुनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले प्रहरी बन्दोबस्तीको सामान खरिदको क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै सो सजाय सुनाएको हो ।
सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजीपीहरुलाई ओमबिक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो ।
यस्तै, सर्वोच्चले फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ । तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ । अन्य आरोपीलाई भने सर्वोच्चले सफाइ दिएको छ ।
आदेशमा भनिएको छ, राष्ट्र सेवक कर्मचारीले अनुचित तवरबाट नेपाल सरकार, प्रहरी प्रधान कार्यालयलाई हानी नोक्सानी गरेमा भ्रष्टचार निवारण ऐन अुनसार कारवाही चलाउन बाधा पर्ने छैन ।’ उनीहरुलाई विशेष अदालतले भ्रष्टचारी ठहर गरिसकेकोमा अन्यथा व्याख्या गर्न नमिल्ने आदेशमा भनिएको छ । द्धन्दग्रस्त मुलुक सुडानमा शान्ति मिसनका लागि खटिन लागेको टुकडीलाई आवश्यक पर्ने हातहतियार लगायत बन्दोबस्तीका सामान खरीदमा घोटाला गरेको आदेशमा उल्लेख छ । विशेष अदालतको आदेशविरुद्ध प्रहरीका तीनजना पुर्व प्रमुख गुरुङ, राणा र ठकुरी सर्वोच्चमा पुनरावेदन दिएका थिए । २०६८ साल फागुन १ गते विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो ।