जाजरकोटमा रवीन्द्र शाहको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले गरे – प्रहरी

जाजरकोट / नेविसंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ।  चन्दा नदिएको भन्दै विप्लवका कार्यकर्ताले शाहको हत्या गरेको जानकारी प्रहरीले मंगलवार पत्रकार सम्मेलनमार्फत् गराएको छ।

हत्यामा संलग्न भनिएका ठकेन्द्रबहादुर सिंह र डिलबहादुर राना

घटनामा संलग्न मध्यका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई प्रहरीले सार्वजनिक गरेको हो। घटनाको योजनाकार तथा संलग्न भनिएका ति दुवै जनाले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न देखिएका पौरख भनिने बलबहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिह भनिने इन्द्र शाही, अभिषेक भनिने दीर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका विप्लव कार्यकर्ताको खोजी भइरको  दिएभेरी अञ्चल प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी। पक्राउ परेका र हत्या गरी फरार रहेका सबै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध कार्यकर्ता भएको शाहले बताए।

उनले विप्लव समूहका कार्यकर्तालाई चन्दा तथा सहयोग गर्न अस्वीकार गरेको, पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष समेत रहेका शाह सँग गत पुसमा चन्दाको विषयमा विप्लव कार्यकर्तासँग हात हालाहाल हुनु, केही महिनाअघि ढिमेमा सिचाई कुलो निर्माण ठेक्कामा बलबहादुर मल्ल पौरखसँग सहमति भए अनुरुप दिनु पर्ने पाँच लाख रुपैयाँ नदिएको, मृतकको बलियो राजनीतिक पहुँच रहनु, ठेक्कामा निजको वर्चश्व बढ्दै जानु लगायतका कारण हत्याको योजना बनेको प्रहरीले बताएको छ।

‘हत्याकाण्ड पार्टीगत निर्णय नभएर विभिन्न घटनाक्रमसँग जोडिएका व्यक्तिले नितान्त व्यक्तिगत रिसिईवी साँध्न गरिएको देखिन्छ’, अञ्चल प्रमुख शाहले भने, ‘हत्यामा संलग्नको खोजी भइराखेको छ।’ प्रहरीले घटनामा संलग्नलाई रेडकर्नर नोटिस समेत जारी गरेर इन्टरपोलमा समेत राख्ने तयारी गरेको छ। गत चैत्र १५ गते जाजरकोट खलंगामा शाहको हत्या भएको थियो।