शनिको चन्द्रमामा पानी, जीवनको अस्तित्व हुन सक्ने

एजेन्सी सोमवार, बैशाख ४, २०७४

मस्को/ पृथ्वीमा मानवको अस्तित्व भएजस्तै विशाल ब्रह्माण्डमा कुनै जीवन रहेको वा नरहेको भन्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ । यसै विषयमा नेशनल एरनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)ले हाम्रै पृथ्वीको सौर मण्डलमा शनि ग्रहको चन्द्रमा (उपग्रह) एनसेलडसमा जीवनको अस्तित्व रहेको हुन सक्ने पुष्टि गरेको छ । 

विज्ञानसम्बन्धी प्रतिष्ठित पत्रिका साइन्समा प्रकाशित शोधमा यस्तो जानकारी दिइएको छ । नासाको कासिनी अन्तरिक्षयानले त्यहाँ हाइड्रोजन जस्ता तत्व भएको पुष्टि गरेको हो । हाइड्रोजन जीवनको मूल स्रोत मानिन्छ । शनिका ६२ वटा उपग्रह रहेका छन् ।

नासाले यस्तो पुष्टि पहिलोपटक गरेको हो । नासाले शनि ग्रहमा गरिरहेको अनुसन्धानबाट बरफले ढाकिएको एनसेलडसमा एउटा भागमा पानी जस्तै वस्तु देखिएको बताइएको छ । अनुसन्धानपछि त्यो चिजमा ९८ प्रतिशत पानी नै भएको जानकरी दिइएको छ । बाँकी दुई प्रतिशतमा हाइड्रोजन, कार्बन डाइअक्साइड र मिथेनका साथै कार्बनको अंश पाइएको छ । यी सबैबाट त्यहाँ जीवनको सम्भावनाको संकेत भएको नासाले जनाएको छ ।

एनसेलडसमा पानीको निरीक्षण गर्ने सान एन्टोनियोको हन्टर वेट अफ द साउथवेस्ट रिसर्च इन्स्टिच्युटका अनुसार यो आणविक हाइड्रोजन केकमा बरफ जमेको जस्तो छ ।

इन्स्टिच्युटको औपचारिक विज्ञप्तिमा भनिएको छ, ‘तपाईहरू ऊर्जाको त्यो स्रोत देख्न सक्नुहुन्छ जुन सूक्ष्म जीवले प्रयोग गर्छन् । हामीले फस्फोरस र सल्फर मात्र देखेनौं । सायद त्यहाँ निकै थोरै हुनसक्छ । हामीले त्यहाँ अब जीवन भएको बारेमा थप अनुसन्धान गर्नुपर्छ।’

नासाले ब्याक्टेरिया जस्ता साधारण जीवन (अस्तित्व) एनसेलडसको समुद्रको सतहमा सम्भव छ । नासाकी वैज्ञानिक लिन्डा स्पिलकरले भनिन्, ‘हामीले एनसेलडसमा जीव भएको सबुत प्रमाण त फेला पारिसकेका छैनौं ।

यद्यपि जीवनका लागि आवश्यक सबै तत्व त्यहाँ भेटिएको छ ।’ उनले भनिन्, ‘शनि ग्रहको एउटा चन्द्रमामा जीवन हुन रासायनिक शक्ति भएको पुष्टि हुनु संसारमा ठूलो कोशेढुंगा हो ।’ एनसेलडसको आकार केही सानो छ । यो हाम्रो पृथ्वीको चन्द्रमाको १५ प्रतिशत मात्र छ । युनिभर्सिटी कलेज लन्डनमा भौतिक शास्त्रका प्राध्यापक एन्ड्रयु कोट्सले भने, ‘हाम्रो सौर मण्डलमा पृथ्वीको बाहिर जुन ग्रहमा जीवनको सम्भावना छ । तीमध्ये मंगल, युरोपा र अब एनसेलडस पनि थपिएको छ ।’

वुड्स होल ओसिनोग्राफिक इन्स्टिच्युसन इन म्यासाचुसेट्सका जिओकेमिस्ट जेफ्री सिवाल्डले भने, ‘एनसेलडसमा भेटिएका चीजबाट त्यहाँ जीवनको प्रारम्भिक स्वरूप रहेको संकेत हो ।’ नासाले कासिनी अन्तरिक्षयानले सन् २००४ मा शनि र यसका उपग्रहको अध्ययन सुरु गरेको थियो । सन् २०१५ को अक्टोबरमा एनसेलडसको तातो पानीको अंश नमुना लिएको थियो ।