रुकुममा निर्वाचन विथोल्ने २५ कार्यकर्ता प्रहरी नियन्त्रणमा

वैशाख १९/ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित २५ नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सहसेक्रेटरी गम्भीर, हिरामणि रावल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपक विष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओली लगायतका अन्य जिल्लास्तरीय नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला सेक्रेटरी बुढासहितका २४ जना नेता कार्यकर्तालाई आठविसकोट नगरपालिकाको राडीबजारबाट नियन्त्रणमा लिइएको थियो भने ओलीलाई खलंगाबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अंगुर जिसीले बताए ।

निर्वाचन विरोधी गतिविधि बढेकाले आवश्यक अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । राडीबाट नियन्त्रणमा लिइएकालाई जिल्ला सदरमुकाम ल्याइँदै छ भने सदरमुकामबाट नियन्त्रणमा लिएकालाई प्रहरी कार्यालयमा राखिएको छ । राडीबजारको एउटा घरमा निर्वाचन विथोल्ने योजना निर्माण गरिरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

अन्य विभिन्न नामका अभियान, कार्यक्रमहरु गर्न अवरोध नगरेको भन्दै डिएसपी जिसीले निर्वाचनलाई अवरोध गर्ने, मतदानका लागि नजान सर्वसाधारणलाई धम्क्याइएको, निर्वाचनमा खट्ने कर्मचारीलाई धम्की दिइरहेको तथा उम्मेदवादलाई पनि विभिन्न बहानामा धम्क्याउने गरेको सूचना पनि पाइएको उनले बताए । ‘अहिले उहाँहरु हाम्रो नियन्त्रणमा हुनुहुन्छ, अब के हुन्छ भन्ने विषयमा अहिल्यै केही भन्न सकिन्न, डिएसपी जिसीले भने,‘आठविसकोटबाट नियन्त्रणमा लिइएकाहरुलाई जिल्लामा पुर्‍याइएपछि मात्रै छाड्ने नछाड्ने विषय टुंगो लाग्ला ।’