माअ‍ोवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच गोरखामा झडप, चारजना घाइते

गोरखाः/चुनाव प्रचारका क्रममा नेकपा माअ‍ोवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच गोरखामा झडप भएको छ। झडपमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन्।   

गोरखाको लक्ष्मी बजारमा शनिबार साँझ ६ बजेतिर भएको झडपमा परी नयाँ शक्ति नेपालका कार्यकर्ताहरु सुवास कुमाल, भीमबहादुर कुमाल, दिपक कुमाल र तिलक कुमाल घाइते भएकाे प्रहरीले जनाएकाे छ। चुनावको प्रचारमा हिडेको नयाँ शक्तिको टोलीलाई रोकेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रचार टोलीले आक्रमण गरेको थियो।

 

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणपछि लक्ष्मीबजारको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो। आक्रमणबाट बा ३७ प २६०४ नम्बरको मोटरसाइकल, ग २ च ३३६४ नम्बरको बोलेरो जीपमा तथा प्रचारमा प्रयोग गरिएको माइकमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि अहिले प्रहरी उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ।