राजधानी काठमाडौंमा मेयर,उप–मेयरको मुख्य पदमै भारी मात्रामा मत बदर

राजधानी काठमाडौंमा मेयरमा १५.१८ प्रतिशत र उप–मेयरमा ३८.८ प्रतिशत मत बदर

नेपालगञ्ज/काठमाडौं महानगरको १ लाख ९७ हजार २२७ खसेको मतमा उपमेयरमा ७६ हजार ४६४ मत बदर भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार मेयरमा २९ हजार ९ सय ४१ मत भने बदर भएको छ ।

काठमाडौं महानगरको उपमेयर ‘विजयी’ नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार २सय ५२ मत ल्याएर काठमाडौं महानगरपालिकाको उपमेयरमा विजयी त भइन तर त्यो भन्दा बढी मत बदर भएको छ । उपमेयरमा निर्वाचित हरिप्रभा खड्गीले पाएको भन्दा धेरै मत ७६ हजार ४६४ मत बदर भएको छ । अर्थात बिजयी भन्दा १२ हजार २ सय १२ मत बढी मत छ ।

देशको राजधानी र सबैभन्दा धेरै शिक्षित मतदाता रहेको भनिएको काठमाडौं महानगरपालिकामा यती धेरै मत बदर भएको हो ।

दलहरुको चुनावी तालमेल र मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा धेरै मत बदर भएको हो । उपमेयरमा बदर भएका धेरै मत सूर्य चिन्हमा लगाइएका थिए ।
मतदाताले लहरै सात सूर्यमा सात छाप लगाएका कारण धेरै मत बदर भएको नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले बताए । उनले भने(धेरै मत सूर्यमा परेर बदर भयो, केही हजार मत सूर्य र गाई दुवैमा छाप लगाएर बदर भयो । नत्र मेरो भन्दा धेरै मत पाएर राजारामजी उपमेयर जित्नु हुने थियो ।’

यस्तै कांग्रेस उम्मेदवार र साझा पार्टीकी उम्मेदवार दुबैलाई मत दिँदा पनि बदर भएको छ ।

मेयरमा पनि बदर मत उच्च
मुख्य निर्वाचन कार्यालयका काठमाडौंका अनुसार मेयरमा २९ हजार ९ सय ४१ मत बदर भएको छ । कुल मत मध्ये १ लाख ६७ हजार २ सय ८६ मत सदर भएको छ ।
सदर मत मध्ये ६४ हजार ९१३ मत पाएर मत पाएर एमालेका विद्यासुन्दर शाक्य बिजयी हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ हजार १ सय ८३ मत पत्र पूर्ण रुपमा बदर भएका थिए । ती मतपत्रमा मेयरदेखि सदस्यलाई दिएका सबै मत रद्ध भएका हुन् ।