नेपाल र चीनबिच तीनवटा सम्झौतामा हस्ताक्षर

३१, श्रावण, नेपालगञ्ज/ नेपाल र चीनबिच  तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण अनि नेपालमा चिनियाँ लगाउने भित्र्याउने सम्बन्धी छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा यी सम्झौता हुन लागेका हुन् । यस्तै चीनको राज्य परिषदका उपप्रधानमन्त्री याङले हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्ने कार्यक्रम छ । नौतले दरबार चीनको सहयोगमा जिर्णोद्धार हुन लागेको हो ।

नेपाल सरकारको निमन्त्रणामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका याङले मंगलबार नै राजनीतिक भेटघाट पनि सुरु गर्दै हुनुहुन्छ । उहाँले मंगलबार उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भने बुधबार भेट गर्नुहुने छ ।

भारत र चीनबिच दोक्लाम क्षेत्रमा बढिरहेको विवाद, तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुन लागेका बेला चिनियाँ उच्च तहबाट नेपाल भ्रमण भएको हो ।