भारतमा हिरासतभित्र नेपालीको मृत्यु प्रकरणमा आइजीपीसहित ८ प्रहरी पक्राउ

भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले एक नेपालीको हिरासतभित्र मृत्यु भएको घटनामा साउथ रेन्जका प्रहरी महानिरिक्षक (आइजीपी) सहित ८ जना प्रहरीलाई पक्राउ गरेको छ ।  

एक किशोरीको बलात्कार र हत्यामा संलग्न रहेको आरोप लागेका सुरज नाम गरेका नेपाली युवाको हिरासत भित्रै मृत्यु भएको थियो । बलत्कार र हत्याको अनुसन्धान गर्न बनाइएको विशेष टिमको नेतृत्व लिएका साउथ रेन्जका आइजीपी जाहुर एच जाइदी सिमलाबाट पक्राउ परेका हुन् । उनीसँगै डीएसपी मनोज जोशी र अन्य ६ जना प्रहरीलाई पनि पक्राउ गरिएको छ ।

गत २० जुलाईका दिन बलात्कार र हत्याका प्रमुख आरोपी मानिएका राजीन्दर सिंहले आफूसँगै थुनिएका सुरजको टाउकोलाई भित्तामा बजारेका थिए । राजीन्दरले सुरजलाई बलात्कारको विषयमा पोल खोलेको र आफूलाई फसाएको आरोपमा आक्रमण गरेका हुन् ।

गत ४ जुलाईमा कक्षा १० मा पढ्ने एक १६ वर्षीया किशोरी स्कुलबाट घर र्फकने क्रममा बेपत्ता भएकी थिइन् । त्यसको दुई दिनपछि प्रहरीले कोटखाइ स्थित हलैला जंगलमा उनको शव फेला पारेको थियो । उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार आरोपीले किशोरीलाई लिफ्ट दिएर एकान्त ठाउँमा लगेका थिए र सामुहिक बलत्कारपछि हत्या गरेका थिए । किशोरीको शरीरमा देखिएका चोटहरुले उनलाई चरम यातना दिइएको अनुमान गरिएको छ ।

सो घटनामा राज्य सरकारले विशेष अनुसन्धान टोली गठन गरेलगत्तै ६ जना व्यक्तिहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा आशिष चौहान, राजीन्दर सिंह, सुवाससिंह बिष्ट, लोक जान, सुरज सिंह र दिपक रहेका छन् ।

सुरजले घटनाको वृतान्त प्रहरीलाई बताएको आइसीपी जाइदीको भनाई छ । सुरजका अनुसार घटनाको प्रमुख सुत्रधार राजीन्दर सिंह थिए जो पिकअप भ्यानका ड्राइभर थिए । राजीन्दरको पिडित किशोरीसँग राम्रो चिनजान रहेको र त्यसअघि उनले दुईपटक किशोरीलाई लिफ्ट दिएको प्रहरीले जनाएको छ ।

तर, पिडितको परिवारले प्रहरीको भनाई पत्याएको छैन । वास्तविक दोषिहरु हाइप्रोफाइल परिवारको भएको र उनीहरुलाई राज्य सरकारले उन्मुक्ति दिएको आरोप परिवारको छ । परिवारलाई स्थानीय जनताले समर्थन गरेका छन् ।

त्यसपछि १४ जुलाईमा हिमाञ्चल प्रदेश सरकारले घटनाको अनुसन्धान गर्न सीबीआईलाई जिम्मा दिएको थियो । सीबीआईले जिम्मा लिएको केही दिनमै कोटखाई प्रहरी चौकीमा आफूसँगै थुनिएका साथी सुरजलाई भित्तामा टाउको ठोक्काएर घाइते बनाएका थिए । त्यही कारणले उनको मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले हस्तक्षेप गर्नुअगावै सुरजको मृत्यु भइसकेको थियो । इण्डियन एक्सप्रेस/चण्डीगढ