सबै स्थानीय तहलाई भवन निर्माणको लागि थप ६ करोड,एक वटा डोजर र जनप्रतिनिधिका लागि सवारी साधन व्यवस्था

१७ भदौ  काठमाडौं/ स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणको लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ। अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वडा कार्यालय निर्माणका लागि पनि हरेक वडालाई थप एक करोड अनुदान दिने बताएको छ। गाउँपालिका महासंघको प्रदेश नम्बर ३ र ४ का प्रतिनिधिसँग भएको भेटमा मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तह नयाँ संरचना भएकाले भवन निर्माणका लागि बजेट आवश्यक परेको बताए।

उनले थप बजेटबाट स्थानीय तहल भवन र जग्गा खरिद गर्न सक्ने बताए। जनप्रतिनिधिका लागि सवारी साधन व्यवस्था गर्ने प्रक्रिया थाल्न कार्यदल गठन गरिएको समेत सचिव थपलियाले बताए।

कार्यदलले एक हप्ताभित्र जनप्रतिनिधिलाई सवारी उपलब्ध गराउने कार्यविधि तयार गर्ने उनको भनाइ छ।  सचिव थपलियाले सबै स्थानीय तहलाई एक एक वटा डोजर व्यवस्था गर्न मन्त्रालयले प्रक्रिया अघि बढेको बताए। डोजर उपलब्ध गराउनेबारे नीतिको मस्यौदा तयार भइरहेको उनको भनाइ छ। स्थानीय तहमा सडक सञ्जाल निर्माण र अन्य पूर्वाधार निर्माणका प्रयोग गर्न डोजर दिने नीति बनाउन लागेको सचिव थपलियाले बताए।