लुटेरा देखी सावधान ! नेपाल–भारत सिमा क्षेत्रमा लुटेरा सक्रिय, महेन्द्रनगरमा यसरी लुटे……….

२७ भाद्र, महेन्द्रनगर/ चाडपर्वका लागि भारत उत्तराखण्डको पौढी गढवालबाट घर फर्किने बेला कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवमा नशालु पदार्थ खुवाएर बेहोस अवस्थामा भेटिएका ३ जनाको प्रहरीले उद्धार गरेको छ । उनीहरूलाई नशालु पदार्थ खुवाएर लुट्न खोज्ने ४ जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

 ब्रह्मदेव नाका हुँदै महेन्द्रनगर आउने क्रममा सल्यानका नन्दराम राना, देवबहादुर राना र दलवीर रानालाई अछामका हरिस थापालगायत ४ जनाको समूहले नशालु पदार्थ खुवाएर लुट्ने प्रयास गरेको जिल्ला प्रहरीका डीएसपी ज्ञानबहादुर सेठीले बताए ।
ब्रह्मदेवमा मदिरामा नशालु पदार्थ मिसाएर खुवाएको र नन्दराम रानालगायतसँग भएको रकम र केही सामान लुटेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको उनले बताए ।

‘पक्राउ परेकाबाट ५३ हजार भारुसँगै विभिन्न सामान बरामद भएको छ,’ डीएसपी सेठीले भने, ‘उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको छ ।’ पक्राउ परेका अछाम, कैलाली र बाँकेका हुन् । पीडितको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरू अझै होसमा आएका छैनन् । मदिरासँग नशालु पदार्थ खुवाएकाले बढी असर परेको स्वास्थ्यकर्मी बताउँछन् ।

‘हामीहरू पौढीबाट भारतकै बाटो भएर रुपैडिया निस्किन खोजिरहेका थियौं,’ अर्ध बेहोस अवस्थाका दलवीरले भने, ‘तर बीच बाटोमा भेटिएका उनीहरूले सोझै रुपैडिया जाने बस नपाउने र टनकपुरबाट छोटो पर्ने भन्दै यही बाटो ल्याए ।’

बीचमा भेटिएका उनीहरूले आफ्नो घर पनि कोहलपुर पर्ने बताएको उनले बताए । उनका अनुसार सोमबार बिहान ब्रह्मदेवमा पुगेपछि उनीहरूले नै मदिरा खान कर गरेका थिए । मदिरा नखानेलाई कोक ल्याएर खुवाएको उनले बताए ।

मदिराका क्वार्टरहरू नखोलिएका भए पनि उनीहरूले खोल्ने बेलामै नशालु पदार्थ मिसाएको दलवीरको दाबी छ । ‘हामीहरू पिउँदापिउँदै बेहोस भयौं,’ उनले भने, ‘होस खुल्ने बेला त हातमा सुई लगाएको देख्यौं ।’

उनीहरू तीनै जना जेठ पहिलो साता गढवालतिर लागेका थिए । उनीहरूले १५/१६ देखि २०/२२ हजार भारु र बालबालिकाका लागि लत्ताकपडा बोकेका थिए । आफूसँग भएका रुपैयाँ सबै खाली गरेर लगेको उनीहरू बताउँछन् । प्रहरीले समयमै उनीहरूलाई नियन्त्रणमा लिन सक्दा सम्पत्ति जोगिएको उनले बताए ।कञ्चनपुरबाट भवानी भट्टले कान्तीपुरमा समाचार लेखनु भएको छ ।