दल गठवन्धन गर्नेहरुलाइ सजिलो:उम्मेदवारी दिएका दलको मात्र मतपत्रमा निर्वाचन चिह्न हुने

प्रदेशमा ३ सय ३० र संघमा १ सय ६५ प्रकारका मतपत्र……

७ कार्तिक,नेपालगञ्ज / प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्रअनुसार फरकफरक मतपत्र हुने भएको छ। साथै तालमेलमा सघाउने दलको निर्वाचन चिह्न मतपत्रमा हुनेछैन। 

स्थानीय तहमा तालमेल गर्दा उम्मेदवार नै नभएको चिह्नमा पनि मत खसेर बदर भएपछि निर्वाचन आयोगले उम्मेदवार भएका दलहरूको चिन्ह मात्रै मतपत्रमा छाप्ने भएको हो। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाउँदै दलहरूले तालेमल गरेर उम्मेदवारी दिएका छन्।

क्षेत्र भागबन्डा गरेर दलहरूले उम्मेदवारी दिएकाले निर्वाचन क्षेत्रैपिच्छे फरक दलका उम्मेदवार हुँदा मतपत्र पनि फरक-फरक हुने भएको हो। निर्वाचन आयोगले जुन दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको छ सोही दलको मात्र निर्वाचन चिह्न मतपत्रमा राख्ने भन्दै सघाउने दलको चिह्न मतपत्रमा समावेश नगर्ने जनाएको हो।

अब दुवै चरणका निर्वाचनमा गरी प्रदेशमा ३ सय ३० र संघमा १ सय ६५ प्रकारका मतपत्र हुनेछन्। १० मंसिरमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ। त्यसका लागि आइतबार उम्मेदवार मनोनयनसमेत भइसकेको छ। आयोगका आयुक्त नरेन्द्र दाहालले दलको आधिकारिक सिफारिस लिएर उठेका उम्मेदवारले सम्बन्धित दलको निर्वाचन चिह्न पाउने तर तालमेल कुन दलले कुन दलसँग गर्‍यो भन्ने आयोगलाई जानकारी नहुने भन्दै उम्मेदवारी दिएका दलको मात्र सम्बन्धित मतपत्रमा निर्वाचन चिह्न हुने बताए।

‘कुन दलले कुन दलसँग तालमेल गर्‍यो आयोग जान्दैन, आधिकारिक रूपमा दलको सिफारिस लिएर उम्मेदवारी दर्ता गरेका दलको मात्र मतपत्रमा निर्वाचन चिह्न हुन्छ, सघाउने वा तालमेल गर्ने दलको चिह्न भने हुँदैन,’ आयुक्त दाहालले भने। निर्वाचन आयोगले उम्मेदवार नभएको क्षेत्रमा पार्टीको चिह्न नराखी मतपत्र छापिने जनाएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले , ‘जुन दलका उम्मेदवार उठ्छन्, सोही दलको मात्रै निर्वाचन चिह्न मतपत्रमा हुन्छ।’ तर, स्वतन्त्र रूपमा उम्मेदवारी दिने उम्मेदवारको भने मतपत्रमा निर्वाचन चिह्न समावेश हुनेछ। उनका अनुसार आगामी निर्वाचनमा उम्मेदवारी दर्ता गरेबाहेकका दलले सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिएको भए सो दलको निर्वाचन चिह्न मतपत्रमा समावेश हुनेछैन।

आयोगले आगामी १० मंसिरमा हुने पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मताधिकारको प्रयोग गर्ने जनाएको छ। पहिलो चरणमा प्रदेश १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा जिल्लामा निर्वाचन हुँदै छ । यसैगरी प्रदेश ५ को रुकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश ६ को रुकुम (पश्चिम भाग) जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुँदैछ।