झापामा प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु, सात घाइते,माओवादी केन्द्र झापाबाट निन्दा

१० कात्तिक, झापा/ झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा अर्जुनधारा ११ का नरेश थापा रहेको प्रहरीले जनाएको छ। 

अर्जुनधाराका एक बालक हत्या विरोधमा शुक्रबार बिहानबाट स्थानीयले बिर्तामोडमा बिरोध प्रदर्शन गरेका थिए। प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले दिउँसो साढे एक बजेबाट निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाको उल्घंघन गर्दै स्थानीयले इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए।

प्रहरीले चलाएको गोली लागेर झापा बह्रदशीका, सुनिल थापा, मेचीनगर नगरपालिका ९ का अशोक बस्नेत, कन्काइ नगरपालिकाका नवराज कोइराला,अर्जुनधारा नगरपालिका–६ का पुण्यप्रसाद लुईटेल बिर्तामोडका देवनन्द राजवंशी, बिर्तामोडका वीरेन्द्र पौडेल र इलाम दानाबारीका मणि नेपाली रहेको जिल्ला प्रहरी कायार्नलय झापाले जनाएको छ।

घाइतेमध्ये नेपाली र राजवंशीको अवस्था गम्भीर रहेको छ। घाइतेको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले जारी गरेको निषेधाज्ञालाई लत्याउदै इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रदर्शनकारीले आक्रमण गरेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए। उनले भने,‘हामीले घटनालाई साम्य पार्न कर्फ्यू लगाएका थियौँ तर यसको उल्लघंन गर्दै प्रदर्शनकारीले प्रहरी कार्यालयमा पेट्रोल बम प्रहार गरे। हामीले बाध्य भएर गोली चलाउनुपर्‍यो।’

११ वर्षीय वालक लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्युबारे निश्पक्ष छानविन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि गोली चलाएर दुई जनाको मृत्यु भएको घटनामा नेकपा माओवादी केन्द्र झापाले निन्दा व्यक्त गरेको छ ।

शुक्रबार साँझ बिज्ञप्ति निकालेर माओवादी झापाले मृतकका परिवार, आफन्त र स्थानीयवासीले न्यायका लागि गरेको आन्दोलनमा प्रहरीबाट दमन हुनु निन्दनीय भएको टिप्पणी गरेको हो ।

घटनाको निश्पक्ष छानविन गरी गोली चलाउन आदेश दिने र चलाउने दुवैलाई कारबाही गर्न पनि माओवादी झापाले माग गरेको छ ।

यता, प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा तोडफोड तथा आगजनीको प्रयास गरेपछि बाध्य भएर गोली चलाउनुपरेको प्रहरीले प्रतिक्रिया दिएको छ ।