इराकमा ४०० जनाको सामूहिक चिहान भेटियो -बिबिसी

२६ कात्तिक/  इराकमा कम्तिमा चार सयजनाको सामूहिक चिहान भेटिएको छ । इराकको हाविजा शहरमा कम्तिमा चार सयजनाको एकै ठाउँमा शव भेटिएको बिबिसीले जनाएको छ । सन् २०१३ देखि इस्लामिक स्टेट आइएसको  नियन्त्रणमा रहेको यो शहर गएको महिना इराकी सेनाले नियन्त्रण कायम गर्न सफल भएको थियो । किर्कुक शहरका गभर्नर रकान सइदले शहरको एयर बेसमा सामूहिक चिहान फेला परेको जानकारी दिनुभयो । 

प्रत्यक्षदर्शी एक स्थानीय बासिन्दाले देखाइ दिएपछि इराकी सेनाले सामूहिक चिहान भेटेको हो ।  चिहानमा केही शव सामान्य कपडा लगाएको अवस्थामा र केही शव आइएसले मृत्युदण्ड दिँदा लगाइदिने कपडा जम्प सुट लगाएको अवस्थामा भेटिएको छ ।

इराकी सेनाले आइएस लडाकु नियन्त्रित क्षेत्रमा दर्जनौँ सामूहिक चिहान फेला पारिसकेको छ । गएको वर्ष ७२ वटा सामूहिक चिहान फेला परेको थियो । ती चिहानभित्र ५ हजार २ सयदेखि १५ हजारसम्म शव हुनसक्ने अनुमान गरिएको थियो ।

सम्बन्धित शीर्षक