रोल्पाको चिउरी खोलामा बर्षमान पुन माथि ढुंगा प्रहार, प्रहरीद्वारा हवाइ फायर,३ जना विप्लवका कार्यकर्ता पक्राउ

२६ कात्तिक, नेपालगञ्ज /   माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन माथि आइतबार पनि आक्रमणको प्रयास भएको छ।

रोल्पाबाट प्रतिनिधि सभा सांसद उम्मेवादर पुनलाई चुनावी कार्यक्रममा जान लाग्दा दुई खोली गाउँपालिकाको चिउरी खोलामा ढुंगा प्रहार भएको हो। रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार पुनलाई लक्षित गरी भीरबाट ढुंगा खसाइएको थियो।  

‘अवरोध गर्ने र तर्साउने उद्देश्यले आक्रमण गरेको देखिन्छ,’ डिएसपी फुयाँलले भने, ‘ढुंगा खसेपछि प्रहरीले हवाइ फायर गरेको थियो।’ उनले घटनामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको संलग्नता रहेको हुन सक्ने बताए।

पूर्वमाओवादी नेता नेत्रविक्रम चन्दका कार्यकर्ताले आफ्नै पूर्वसहकर्मी वर्षमान पुनको चुनावी अभियानमाथि निरन्तर अवरोध गर्न थालेका छन् ।

 

शनिबार वर्षमान चढेको गाडीलाई लक्षित गरेर माइन बिस्फोट गराइएको थियो भने आइतबार भीरबाट ढुंगा लडाउने र सानो हतियारबाट फायरिङ गर्ने काम भएको छ ।

प्राप्त जानकारी अनुसार आइतबार दिउँसो रामचीबाट दुईखोलीतर्फ आमसभाका लागि हिँडेको वर्षमान पुनको टोलीलाई भीरबाट ढंगा लडाएर विप्लवका कार्यकर्ताले करिब २ घण्टासम्म बाटैमा रोकेका छन् । पुनसँगै टोलीमा रहेका एक माओवादी कार्यकर्ताले दिएको जानकारी अनुसार विप्लवका कार्यकर्ताले भीरबाट ढुंगा लडाएर गाडी रोकेपछि छोटो हतियारबाट फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गरेर उनीहरुलाई धपाएको थियो ।

यसक्रममा ३ जना विप्लवका कार्यकर्तालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीलाई प्रहरीले भीर आसपासबाट सर्च गरेर पक्राउ गरेको हो ।वर्षमान पुनको चुनावी टोलीमाथि दिनहुँ आक्रमणको प्रयास भइरहे पनि विप्लव समूहले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

तर, आफ्नै मित्रशक्तिमाथि सिलसिलेवार रुपमा सांघातिक हमला हुन थालेपछि यस्तो घटना विप्लव समूहले नै गराइरहेको छ या उनका नाममा वाम गठबन्धन विरोधी शक्तिले गरिरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठेको माओवादी केन्द्रका एक जिल्ला नेताले बताए ।

शनिबार वर्षमानको टोलीलाई तर्साउने नियतले नभई सखाप नै पार्ने नियतले शक्तिशाली माइन बिस्फोट गराइएको थियो भने आइतबार गोली हान्ने प्रयास भएको थियो । घटनाको प्रकृति हेर्दा सामान्य अवरोध गर्ने मात्रै नभएर पुनमाथि  आक्रमणकै षड्यन्त्र भइरहेको संकेत देखिएको सुरक्षा स्रोतको आँकलन छ ।