हाम्रो संरचना शुक्रबार, जेष्ठ १०, २०७६ 466 Views

१५ पुस,काठमाडौँ/ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच सशस्त्र प्रहरी बलको खेलमैदान हलचोकमा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 

पूर्व राष्ट्रिय रेफ्री तथा पूर्व प्रहरी उपरीक्षक स्व. रुपकराज शर्मा तथा १६६ यात्रीको पाकिस्तान विमान दुर्घटनामा दुःखद निधन भएको २५औँ वर्षको सम्झनामा रुपक स्मृती प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
माननीय सिंचाई मन्त्री संजयकुमार गौतमले राष्ट्रिय रेफ्री प्रज्वल क्षेत्रीलाई फुटबल हस्तान्तरण गरी उदघाटन गर्नुभएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल टीम बिजयी भएको छ ।
प्रतियोगितापछि आयोजित कार्यक्रममा सिंचाई मन्त्री गौतमले पाकिस्तान विमान दुर्घटनामा नेपालले सुयोग्य नागरिक गुमाएको स्मरण गर्दै रुपकको सम्झनामा आयोजित प्रतियोगिताले खेल क्षेत्रको बिकासमा योगदान पुग्ने बताउनुभयो ।

रुपकले देखाएको बाटो खेल क्षेत्रमा प्रेरणादायि र स्मरणयोग्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा पूर्व प्रहरी महानिरीक्षक तथा राष्ट्रिय फुटबल टिमका पूर्व क्याप्टेन अच्युतकृष्ण खरेलले रुपकराज शर्मा खेलकुद क्षेत्रमा स्थापित तथा कुशल एवम् इमानदार प्रहरी अधिकृतको रुपमा परिचित भएको बताउनुभयो ।

सोही अवसरमा पूर्व प्रहरी महानिरीक्षक खरेललाई सम्मानपत्र प्रदान गरिएको थियो भने दुबै टिमका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले स्व. रुपकराज शर्माको योगदानको चर्चा गर्दै खेलकुद क्षेत्र तथा नेपाल प्रहरीमा रहँदा उहाँ इमानदार र अनुशासित रहेको बताउनुभयो ।

स्व. रुपकको स्मरणयोग्य कार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै रुपक स्मृति प्रतिष्ठानको श्रीबृद्धिको कामना समेत उहाँले गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्व. रुपकराज शर्माको व्यक्तित्वको चर्चा गर्दै रुपकको स्मरणमा आयोजित प्रतियोगिताले भातृत्वभावको विकास गर्न योगदान पुग्ने उल्लेख गर्नुभयो ।
रुपक स्मृति प्रतिष्ठानकी अध्यक्ष श्रीमती निता शर्माले समापन मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रतिष्ठानका प्रतिनिधि आदेश गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।