हाम्रो संरचना सोमवार, भदौ ३०, २०७६ 968 Views
लेखक : कपिल काफ्ले

गुगल खोजका अनुसार १० नेपालीमा २ को इन्टरनेट पहुँच भइसकेको छ। यसरी हेर्दा ३ करोड जनसंख्याको नेपालमा करिब ६० लाख नेपाली आज इन्टरनेट चलाइरहेका छन्।

आमसञ्चारको माध्यममा काम गर्ने नेपालीका लागि रोचक सन्दर्भ त के भने, यस संख्यालाई बेवास्ता गरेर जो अघि बढ्न खोज्छ ऊ हलो अड्केको बेला गोरु चुटिएझैँ चुटिन्छ। खासगरी अखबार, पत्रपत्रिकावालाले त यस सत्यलाई बेवास्ता गर्नु आफ्नै भाग्यमाथि प्रहार गर्नु हो।

आमसञ्चारका क्षेत्रमा प्रभावशाली अभिव्यक्ति दिने पछिल्ला लेखक मार्सल म्याकलुहान नै हुन्, उनको ‘माध्यम नै खबर हो’ भन्ने अभिव्यक्ति निकै चर्चित भयो। झट्ट सुन्दा अविश्वसनीय लाग्ने भनाइलाई उनकै आशयको गहिराइसम्म पुगेर हेर्दा स्वीकार गर्न कर लाग्छ। हामी ‘सुरक्षाकर्मी र विद्रोहीबीच भिडन्त, १० को मृत्यु भन्ने अभिव्यक्तिप्रति त्यति भाव-विह्वल हुँदैनौं जति यसलाई आख्यानका रूपमा प्रस्तुत गरिएको अवस्थामा हुन्छौं।

‘पहिलो गोली तिघ्रामा लागेपछि विद्रोही ढल्यो, घस्रिंदै भाग्न खोज्दा नजिकै आएर सुरक्षाकर्मीले अर्को तिघ्रामा पनि गोली हान्यो, अब ऊ हात टेकेर घस्रिन थाल्यो, आमाको नाममा गाली दिँदै सुरक्षाकर्मीले पाखुरामा पनि गोली हान्यो। घाइतेले म मरेपछि मेरी श्रीमतीलाई तिम्रो श्रीमान् यस धर्तीमा छैन कसले भनिदेला, सानी छोरीलाई तिम्रा बाबा यस संसारमा रहेनन् भनेर कसले सुनाउला भनेर बरर्र रुन थाल्यो…..’ भनेर आख्यान माध्यम अपनाउँदै मृत्यु वर्णन गरियो भने अघिल्लो भन्दा यस अभिव्यक्तिले पाठकलाई बढी मर्माहत बनाउँछ।

इराकमा मारिएका १२ नेपाली मारिँदै गरैको आवाज सहितको भिडियो युट्युबमा नराखिएको भए नेपालका जुन स्तरको हिंसात्मक आक्रोश भड्कियो, त्यस्तो हुने थिएन। त्यसैले सञ्चार के भयो मात्र होइन, कसरी भयो भन्ने विषय प्रभावशाली हुने अवस्था आयो भनेर म्याकलुहानले टेलिभिजनलाई हेरेर १९६४ मा ‘अन्डरस्टान्डिङ मिडिया’ पुस्तक लेखेका थिए।

तर, इन्टरनेट आएपछि र खासगरी छापा, रेडियो र टेलिभिजन तीनवटै माध्यमलाई इन्टरनेटले एकसाथ समेट्न थालेपछि यो अझ बढी ‘खबर’ हुनथालेको छ। इन्टरनेट हुँदैनथ्यो भने विदेशमा नेपालीलाई कति निर्दयताका साथ मारियो भन्ने जानकारी बढीमा शब्द चित्र उतारेर आख्यानात्मक बनाउन त सकिन्थ्यो, तर जस्ताको त्यस्तै मारिँदै गरेको दृश्य र अन्तिम चित्कार समेट्न सकिन्नथ्यो।

इन्टरनेटको आगमनपछि विश्वका प्रभावशाली सञ्चारमाध्यम न्युज विक, टाइम्स लगायत धेरैले आफ्नो छापा स्वरूप परित्याग गरे। अनलाइन भर्सनमा प्रकाशित भएपछि विश्वका सबै पाठक सम्म सहजै पुग्ने अवस्था सिर्जना भयो, छपाइ प्रक्रियामा जानै परेन। जबरजस्ती छपाइ गरिरहनु भनेको नोक्सानको व्यापार गर्नु र परिवर्तित समयलाई नचिन्नु नै हो भन्ने सत्य उनीहरूले बुझे।

ढिलो–चाँडो नेपाली छापाले पनि यस यथार्थलाई स्वीकार गर्नै पर्छ। चतुर मिडिया सञ्चालकहरूले छापा र इन्टरनेट वा अनलाइनका प्रतिलिपिहरू एकसाथ अगाडि बढाएका, बिस्तारै छापालाई घटाउँदै र इन्टरनेट भर्सनलाई सशक्त बनाउँदै लगेका छन्। भोलि अखबारको खरिद घटेर शून्यतिर झर्दा न्युजविक र टाइम्सको बाटो समाउन उनीहरूलाई सहज हुनेछ, सञ्चारगृह धराशयी हुने अवस्था आउनेछैन। जसले समयमै भूकम्पको पदचाप पहिचान गर्न सकेन, अब ऊ निश्चित रूपले समाप्त भयो।

म्याकलुहानले ‘विश्व एक गाउँ’ अर्थात् ‘ग्लोबल भिलेज’ भन्ने विचार दिए, जसलाई इन्टरनेटले अझ सार्थक साबित गर्यो। उनले मिडियाको प्रभाव वा असर सशक्त हुने र समाजको स्वरूप निर्माण वा परिवर्तनमा पनि त्यसको जबरजस्त भूमिका हुने भविष्यवाणी गरे। इन्टरनेट प्रभावमा आउनुअघि नै उनले मिडियाले व्यक्तिको जीवनशैली बदल्ने, विचार बनाउन सघाउने र बानी–व्यहोरा तथा संस्कृतिको स्वरूप बनाउने घोषणा पनि गरेका थिए। अमेरिकामा जन्मेका नातिलाई नेपालमा बसेका हजुरबाले स्काइपमा हेरेर न्वारन गर्दै गरेको र दशैं–तिहारमा पनि ‘डिस्ट्यान्स मेथोड’ बाट टीकाटालो हुने गरेको देख्दा इन्टरनेटले संस्कृतिको प्रक्रिया र शैलीमै हस्तक्षेप गरेको स्वीकार
गर्नै पर्छ।

चालीसको दशकभन्दा अघिसम्म आमसञ्चारले प्रचारबाजी र अभिप्रेरणाको काम गर्छ भनेर मिडियाका विद्वान्हरू व्याख्या गर्थे। व्यक्तिको दैनन्दिनी नै बदल्ने हैसियतमा आमसञ्चारको पहुँच हुने चिन्तन उनीहरूमा आएको थिएन। तर बिस्तारै समाजशास्त्रीय अवधारणा वा व्यावहारिक विज्ञानका रूपमा पनि सञ्चार क्षेत्रका पण्डितहरूले मिडियालाई व्याख्या गर्नै पर्ने भयो। सामाजिक परिवर्तनमा आमसञ्चारको जबरजस्त हात हुने यथार्थलाई नेपालीले धेरै पटक महसुस गरेका छन्। नेपालका जनआन्दोलनहरू मिडियाको सहयोगविना विरलै मात्र सफल
भएका छन्।

समाजमा मिडियाको प्रत्यक्ष प्रभाव हुन्छ वा हुँदैन र हुँदा कुन रूपमा हुन्छ भनेर अमेरिकाका अनुसन्धानकर्ताहरूले १९३८ मा एक प्रयोग गरे, बाह्य लोकबाट अमेरिकामाथि आक्रमण हुँदै छ भन्ने काल्पनिक समाचार प्रसारित गराए। त्यसको उद्देश्य थियो श्रोतामा परेको असर पहिचान गर्नु।

अनुसन्धानकर्ताहरूले त्यसको प्रत्यक्ष प्रभाव देखे, त्यसकै आधारमा ‘डाइरेक्ट इफेक्ट थेउरी’ प्रतिपादन पनि गरे। यद्यपि पछिल्ला वर्षहरूमा मिडियाको प्रत्यक्ष असर हुँदैन भन्ने नयाँ सिद्धान्तहरू पनि प्रतिपादन हुँदै आए। १९४० मा अन्य अनुसन्धानकर्ताहरूले निर्वाचनमा मिडियाको प्रत्यक्ष प्रभाव नपरेको प्रयोग गरेरै देखाए। निश्चित राजनीतिक दल वा उम्मेदवारलाई मतदान गर्न पहिला नै मनस्थिति बनाइसकेका मतदातालाई मिडियाले जतिसुकै आकाश–पाताल देखाए पनि उनीहरूको विचारमा परिवर्तन देखिएन।

पछि प्रतिपादन गरिएको ‘एजेन्डा सेटिङ थेउरी’ ले सामाजिक, राजनीतिक, आर्थिक मुद्दाहरू बनाउन भने आमसञ्चारले महत्वपूर्ण भूमिका खेल्ने निष्कर्ष निकाले। समाजमा भएका अनगिन्ती विषयमध्ये मिडियाले जसलाई बोकेर हिँड्छ त्यही नै मुद्दा बन्ने तर विषय आफैंमा महत्वपूर्ण भए पनि मिडियाले ध्यान नदिएका कारण ओझेलमा परेरै बिलाउने यथार्थलाई यस सिद्धान्तले प्रतिपादन गर्यो। ह्यानसन लेख्छन्, मिडियाले प्रचार–प्रसारमा नल्याउने, समाचार र विचारमा स्थान नदिने हो भने धेरै महत्वपूर्ण विषय किनारा लाग्छन्।

१९९६ मा डियरिङ र रोगर्सले स्वास्थ्यका लागि चुरोट हानिकारक भएको विषय मिडियाले बाहिर ल्याएकै कारण यो मुद्दा बनेको उदाहरण दिँदै आफ्नो भनाइलाई पुष्टि गरेका छन्। निभेको चुरोटको ठुटो लेखाएर ‘आमविनाशको हतियार, हरेक वर्ष ५० लाख व्यक्तिको मृत्यु भन्ने सचित्र सन्देश मिडियाले नदिएको भए धूमपानका कारण स्वास्थ्यमा पर्ने असरको विषय सार्वजनिक मुद्दा हुने थिएन भन्ने उनीहरूको भनाइ थियो। यसले प्रस्ट के देखाएको छ भने, मिडिया सामाजिक दिशानिर्देशनका लागि महत्वपूर्ण साधन हो, म्याकलुहानले भनेजस्तै बलियो साधनको प्रयोग गर्दै त्यसलाई उठाउन जसले सक्यो ऊ नै सफल सञ्चारकर्मी हुन पुग्छ। किनभने मिडिया स्वयं नै सन्देश पनि हो।

बुझ्नै पर्ने अर्को सन्दर्भ हो, मिडियाको प्रयोग दर्शक, श्रोता र पाठकहरूले आत्मसन्तुष्टिका लागि गरिरहेका हुन्छन्। ‘प्रयोग तथा सन्तुष्टि सिद्धान्त’ ले यही तथ्य पुष्टि गरेको छ। पापाचारिसीले २००९ मा व्यक्तिले कस्तो तस्वीर ट्युट गर्छ वा फेसबुकमा राख्छ भन्ने व्याख्या गर्दै भनेका छन्, आन्मसन्तुष्टि, समाजमा प्रभाव, व्यक्तित्वको पहिचान आदिका कारण कुनै पनि व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गरिरहेको हुन्छ। यहाँ स्मरणीय पक्ष के भने, आमसञ्चारका माध्यम चलाउने हरेक सञ्चारकर्मीले मिडियाको सफलताका लागि पाठक, दर्शक र श्रोताको आत्मसन्तुष्टिको यस अभीष्ट पूरा गर्ने/गराउने प्रयास गर्नुपर्छ। नेपाल समाचारपत्रको अनलाईन संस्करणबाट लिइएको छ ।

वरिष्ठ पत्रकार  कपिल काफ्ले नेपाल समाचारपत्रका पूर्व सम्पादक एवम सामाजिक अभियन्ता पनि हुनुहन्छ ।