हेटौंडाबाट १९ केजी गांजा,रौतहटको गरुडा र नागढुंगा चेक पोष्टबाट १४ केजी चरेश सहित ५ जना पक्राउ

२० पुस,मकवानपुर/  मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ पिपल चौतारा स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी जाँच गर्ने क्रममा २ जना मोटरसाईकल सवार ब्यक्तीको साथबाट करीब १९ केजी गांजा वरामद भएको छ । 

ना.२८ प. ३४४८ नम्बरको मोटरसाइकलमा सवार मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ पिपल चौतारा बस्ने २२ वर्षीय गणेश लामा थिङलाई ६ किलो ५ सय ग्राम तथा साथै सोही ठाउँ बस्ने ना.१५ प. १२४५ नम्बरको मोटरसाइकलका चालक २१ वर्षीय साजन थिङ र मोटरसाइकलमा सवार २१ वर्षीय मनोज लोप्चनलाई १२ किलो ८ सय ग्राम लागूऔषध गाँजा तथा २ वटै मोटरसाइकल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी रौतहट  जिल्लाको गरुडा नगरपालिका–१ जयनगरस्थित सडकबाट सोही ठाउँ बस्ने ३३ वर्षीय शिवशंकर पाण्डेलाई ४ केजी लागूऔषध चरेश सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको  केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैगरीधादिङको बेनिघाट गाउँपालिका–११ घर भएका ३० बर्षीय देवलाल तामाङलाई प्रहरीले अवैध लागूऔषध चरेस ९ किलो सहित पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकपोष्टमा धादिङ्गबाट काठमाडौँतर्फ आउँदै गरेको बा.४ ख ७३८० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा तामाङले झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बुधबार उक्त चरेश बरामद गरी उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेक पोष्टमा भारतको बरौनीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख १६१० नम्वरको यात्रुबाहक बसका चालक मकवानपुर घर भएका ३१ बर्षीय बिक्रम लामा र सह–चालक सोही ठाउँका २४ बर्षीय रवि लोप्चनलाई चालकको सिटमुनी लुकाई छिपाई ल्याएको लागूऔषध कोरेक्स एकसय एमएलको ६ बोतल र भारतीय रुपैयाँ १६ हजार सहित महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बुधबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरी गर्ने पक्राउ

त्यसैगरी रौतहट जिल्लाको मलंगवा नगरपालिकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोह मध्येका रौतहटको राजपुर नगरपालिका–९ बैरिया टोल बस्ने १८ बर्षीय मो. मजिदलाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।
मलंगवा नगरपालिकाबाट विभिन्न मितिमा हराएका मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार र मंगलबार प्रहरीले अपाची २ थान, पल्सर २ थान, गल्यामर २ थान र होण्डा कम्पनीको स्कुटर १ थान समेत गरी ७ थान मोटरसाइकल बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।