suresh बुधबार, अशोज २९, २०७६ 557 Views

विश्वभरि स्मार्टफोन, आइप्याड, आइफोनलगायत डिजिटल उपकरण र इन्टरनेट धेरै हदसम्म सर्वसुलभ भइसकेको छ। बालबालिकाको स्वास्थ्यलगायत हकअधिकारका पक्षमा काम गर्ने राष्ट्रसंघीय निकाय युनिसेफले गत वर्ष ‘स्टेट अफ द वल्ड्र्स चिल्ड्रेन २०१७ः चिल्ड्रेन इन अ डिजिटल वल्र्ड’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्‍यो। प्रतिवेदनअनुसार इन्टरनेट सबैभन्दा बढ्ता चलाउनेमा बालबालिका पर्छन्। बालबालिकाहरू विश्वको कुल जनसंख्याको ४८ प्रतिशत छन्। तर, हरेक क्षण संसारभरि अनलाइन हुनेमध्ये ७१ प्रतिशत बालबालिका हुने गर्छन्, जुन जनसंख्याको अनुपातमा निकै बढी हो।

 

हिजोआज बालबालिका डिजिटल प्रविधि र इन्टरनेटसँग बामे सर्नुअघिदेखि नै अभ्यस्त हुन थालेका छन्। यसले बालबालिकाको जीवनशैलीमै आमूल परिवर्तन ल्याइदिएको छ। तर, पनि यसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे पर्याप्त अनुसन्धान नभएको भन्दै अमेरिका, युरोपलगायत विकसित देशमा सरकार र निजी क्षेत्रको आलोचना हुने गरेको छ। अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरूमा भने डिजिटल प्रविधिले बालबालिकामा पारेको प्रभावबारे चर्चासमेत भएको पाइँदैन।

इन्टरनेट र डिजिटल उपकरण वयस्कहरूका लागि भनेर आविष्कार गरिएका हुन्। तर यसका मुख्य उपभोक्त बालबालिका भइरहेका छन्। युनिसेफको प्रतिवेदनअनुसार यसले सुखद नतिजा पनि ल्याइरहेको छ। इन्टरनेट र डिजिटल उपकरणको उपयोगबाट बालबालिका हरेक खालका सूचनासँग निकट भएका छन्। यस्ता प्रविधिको पहुँचमा रहेका बालबालिकाले इन्टरनेटमार्फत अवाञ्छित विषय नियाल्ने र सानै उमेरदेखि त्यस्ता विषयको कुलतमा फस्ने जोखिम पनि बढिरहेको छ।

यद्यपि, डिजिटल प्रविधि चलाउने बालबालिकाले बेहोरेको सबैभन्दा ठूलो चुनौती चाहिँ डिजिटल प्रविधिको अम्मल हो। यसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो असर पुर्‍याइरहेको विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ।केही वर्षअघि अमेरिकास्थित बोस्टन विश्वविद्यालयको चिकित्सा विभागले स्मार्टफोन अथवा आइप्याडले बालबालिकामा पार्ने प्रभावबारे अध्ययन गरेको थियो। अनुसन्धानबाट यस्ता ग्याजेट चलाउने बालबालिकामा नयाँ कुरा सिक्ने र आत्मअनुशासनमा रहने क्षमता कम हुने निष्कर्ष निकालिएको थियो।

साथै, यसले बालबालिकाको मानसिक र सामाजिक विकासमा पनि अवरोध गर्ने बताइएको थियो। स्मार्टफोन अथवा आइप्याडलाई विद्यालयहरूले शैक्षिक सामग्री बनाउने क्रम बढिरहेको बेला प्रतिवेदनले यस्तो चलन रोकेर बालबालिकालाई मानिससँगको प्रत्यक्ष अन्तरक्रियामा बढी संलग्न गराउन सुझाव दिएको थियो।
बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गर्ने विज्ञहरूमध्ये अधिकांशले डिजिटल प्रविधिबाट बालबालिकालाई सकेसम्म टाढा राख्नुपर्ने सुझाव दिने गरेका छन्। बालबालिकाको दिमाग कलिलो हुन्छ। यसले निश्चित आकार ग्रहण गरिसकेको हुँदैन। १२ वर्षको भएपछि बालबालिकाको दिमागको विकास पूर्ण बन्न पुग्छ। त्यसपछि उनीहरू किशोरावस्थामा प्रवेश गर्छन्। त्यसैले बालबालिकाको दिमागमा पर्ने असरले उनीहरूलाई जीवनभर प्रभावित गरिरहन्छ।

वैज्ञानिकहरूले डिजिटल प्रयोगको अम्मलमा फसेका बालबालिकाको दिमागको अध्ययन गरेका छन्। लिप्त भएर डिजिटल प्रविधि चलाउने बालबालिकाको दिमाग स्क्यान गरेर हेर्दा डरलाग्दा केही तथ्य पत्ता लागेका छन्। डिजिटल उपकरण बढी चलाउने बालबालिकाको दिमागको अगाडिपट्टिको भाग (फ्रन्टल कोर्टेक्स)मा नराम्रो असर पर्ने गरेको पत्ता लागेको छ। फ्रन्टल कोर्टेक्सले शरीर सञ्चालनको मूल तत्वलाई नियन्त्रण गर्छ।

यसले आवेग नियन्त्रण (इम्पल्स कन्ट्रोल) गर्ने काम पनि गर्छ। कोकिन खाँदा व्यक्तिको फ्रन्टल कोर्टेक्समा जस्तो असर पर्छ, स्मार्टफोनमा लिप्त बालबालिकाको फ्रन्टल कर्टेक्समा त्यस्तै असर परिरहेको हुन्छ। त्यसैले बालबालिकाका लागि स्मार्टफोनको अम्मल वयस्कहरूका लागि कोकिनको अम्मल जस्तै हो। स्मार्टफोन चलाउँदै गरेका बालबालिकाको शरीरमा डोपामाइन हार्मोनमा उल्लेख्य वृद्धि भएको हुन्छ। यस्तो हार्मोनले व्यक्तिलाई परम सन्तुष्टि दिलाउँछ।

बालबालिका डिजिटल प्रविधिको अम्मली बन्दै गएका लक्षण देखिनासाथ अभिभावकले उनीहरूलाई यसको असरबाट निकाल्ने प्रयत्न सूरु गरिहाल्नुपर्छ। बालमनोचिकित्सकहरूका अनुसार यस्तो अम्मलमा परेका बालबालिकाले केही लक्षण देखाउँछन्। स्मार्टफोन, आइप्याड आदिमा कार्टुन अथवा गीत हेर्नमा मात्रै उनीहरूको एकोहोरो ध्यान हुन्छ। खेल्ने, उफ्रिने, चल्ने आदि गर्नमा उनीहरूले रुचि देखाउन छोड्छन् र सधैं स्मार्टफोनको माग मात्र गरिरहन्छन्। खाँदा अथवा अन्य कुरा गर्दा पनि उनीहरू स्मार्टफोनकै चिन्ता गरिरहेका हुन्छन्। ‘तिमी स्मार्टफोन बढी चलाउन थाल्यौ’ भनि अभिभावकले भने भने उनीहरू झर्किन्छन्।

चलाउँदै गरेको अवस्थामा खोस्यो भने रुने, कराउने र झम्टिने गर्छन्। आमाबाबुको आँखा छलेर स्मार्टफोन चलाउने गर्छन्। वरिपरि भएका जस्तासुकै गतिविधिलाई पनि वास्तै नगरी एकोहोरो स्मार्टफोनमा मात्रै ध्यान केन्द्रित गर्छन्। यदि यीमध्ये अधिकांश लक्षण बालबालिकामा देखापरेका छन् भने बालबालिका डिजिटल उपकरणका अम्मली बनेका छन् भन्ने बुझ्नुपर्छ। र, उनीहरूलाई यसबाट निकाल्न अविलम्ब क्रियाशील हुनुपर्छ। नत्र यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्छ।

त्यस्त बालबालिका एकोहोरो र एकलकाँटे प्रकृतिको बन्ने, उनीहरूको सिर्जनात्मक क्षमतामा ह्रास आउने, प्रकारान्तरमा उनीहरूमा अनिद्राको समस्या देखिने, साथी बनाउने र समूहमा घुलमिल हुने क्षमतामा ह्रास आउने जस्ता समस्या देखापर्छन्। डिजिटल प्रविधिमा बढी लिप्त हुने बालबालिकाको शारीरिक क्रियाशीलता कम हुने भएकाले उनीहरूको हड्डी र मांसपेशीको विकास राम्रोसँग हुन पाउँदैन, जसले गर्दा उनीहरू कमजोर हुन्छन्। त्यस्ता बालबालिकामा मोटोपनको समस्या पनि उत्पन्न हुन्छ। त्यसैले बालबालिकाहरू यस्तो अम्मलमा परिसकेका छन् भने छुटाइहाल्नुपर्छ।

डिजिटल प्रविधिले बालबालिकाको मनोविज्ञानमा पारेको प्रभावमा विशेषज्ञता हासिल गरेका अमेरिकी बालमनोचिकित्सक डा. निकोलस कार्दारस बालबालिकालाई १२ वर्ष पूरा भएपछि मात्रै डिजिटल ग्याजेट चलाउन दिन उपयुक्त हुने बताउँछन्। ‘बालबालिकालाई स्मार्टफोन खेल्न दिनुको सट्टा प्लास्टिक लगायतका क्युब जोडेर विभिन्न आकृति बनाउने खेल खेल्न सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘समय काट्न अथवा भुलाउन टिभी हेर्न दिनुको सट्टा घुमाउन अथवा खल्न लैजाने गर्नुपर्छ। भिडियो गेम खेल्न दिनुको सट्टा फुटबल, क्रिकेट, पिङ, चिप्लेटी, घोडचढी आदि खेल्न लैजानुपर्छ।’

बालबालिका डिजिटल प्रविधिका अम्मली भइसकेका रहेछन् भने उनीहरूलाई डिजिटल ग्याजेटबाटै टाढै राख्नुपर्छ। जति रुने÷कराउने गरे पनि दिनु हुँदैन। खाना खाँदा साथमा मोबाइल राख्ने अथवा टिभी खोल्ने गर्नु हुँदैन। स्मार्टफोन चाहियो भन्दै जिद्दी गरेर रुने बालबालिकालाई अन्य खेलौना दिने, घुम्न लैजाने गर्नुपर्छ। यसो गर्दा बिस्तारै उनीहरू सामान्य हुँदै जान्छन्। यति गर्दा पनि बालबालिका समान्य अवस्थामा फर्किएनन् भने मनोचिकित्सकको सल्लाह लिनुपर्छ।

(एजेन्सीको सहयोगमा)

suresh

See all posts by