विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई हराउँदै नेपाल विश्वकपमा छनोट, करण केसी म्यान अफ द म्याच 


२ फागुन, नेपालगञ्ज/ नामिबियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेट बाँकी छदा उक्त लक्ष्य भेटेको हो।

यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा पुग्दै सन् २०१८ को विश्वकप छनोट खेल्ने भएको छ। नेपाललाई करण केसीले महत्वपूर्ण जीत दिलाएका छन्। उनले ३१ बलमा ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन बनाए।

केसीलाई सन्दीप लामिछानेले महत्वपूर्ण साथ दिएका थिए। क्यानडा विरुद्ध टस जितेको नेपालको सुरुवाती ब्याटिङ भने चल्न सकेन। नेपालका दीलिप नाथले ४१ रन बनाए। रोहित कुमार पौडेलले २७ रन बनाए भने आरिफ शेखले २६ रन बनाए। दिपेन्द्रसिंह ऐरीले १८ रन बनाएका थिए।

अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत पार गर्न सकेनन्। नेपालका भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरको ब्याट उक्त खेलमा खासै चल्न सकेन।  नेपालको ब्याटिङलाई छिट्टै गिराउने क्रममा क्यानडाका लागि सेसिल पेर्भेजले ३ महत्वपूर्ण विकेट लिए। एन दत्ताले २ विकेट लिँदा साद विन जाफरको नाममा पनि २ विकेट रह्यो।

नेपाललाई १९५ रनको चुनौती दिने क्रममा क्यानडाका श्रीमान्था विजेरत्नेले शतक प्रहार गरे। उनले १५० बल खेलेर १०१ रन बनाएका थिए।
क्यानडाका लागि हम्जा तारिकले २४, धिनासाले नटआउट १८ र सइद विन जाफरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि वसन्त रेग्मीले ४ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा करण केसी र शरद भेषवाकरले १(१ विकेट लिए।

करण केसी म्यान अफ द म्याच 

विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपाललाई क्यानडाविरुद्ध सनसनीपूर्ण जीत दिलाएका करण केसी म्यान अफ द म्याच बनेका छन्। नामिबियामा सम्पन्न खेलमा करणले क्यानडाविरुद्ध ३१ बलमा ३ चौका र ४ छक्काको मद्दतले नटआउट ४२ रन बनाएका थिए। केसीले बलिङतर्फ पनि ८ ओभरमा ४० रन खर्चेर १ विकेट लिएका थिए।