हाम्रो संरचना शुक्रबार, जेष्ठ १०, २०७६ 274 Views
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५, को जंगलमा रहेको गुनामौरा रुखबाट बिधुत उत्पादनको प्रयास गर्दै विद्यार्थी …..

१५ फागुन,पश्चिम रुकुम/ रुकुमको मुसिकोट स्थित प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले रूखबाट बिधुत उत्पादन गरेका छन् ।

रुकुमको मुसीकोट नगरपालिका–५, सेरि गाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिमा अध्ययनरत विद्यार्थीहरूले रूखबाट १९ भोल्टेज क्षमता भएको बिधुतउत्पादन गरेका हुन् ।

उनीहरूले गुनामौरा नामको रूखबाट बिधुत उत्पादन गर्न सफल भएका छन् ।

तीन वर्ष पहिलेदेखि विभिन्न प्राविधिक तालिम सिकाउँदै आएको संस्थाका विद्यार्थीले यो वर्ष भने काँचो रूखबाट बिधुत उत्पादन गर्न सफल भएका हुन् । विभिन्न वस्तुमा बिधुत उत्पादनको परीक्षण गर्दै जाँदा रूखबाट पनि बिधुत उत्पादन भएको विद्यार्थीहरूले बताएका छन् ।

लेभल टु इलेक्ट्रिकल सब–ओभरसियर पढिरहेका विद्यार्थी जयबहादुर नाथ र खिमप्रकाश नाथले आफूहरूले लामो प्रयासपछि रूखबाट बिधुत उत्पादन गर्न सफल भएको बताए । धेरै काँचा रूखमा प्रयास गरिए तापनि गुनामौरा प्रजातिको रूखबाट मात्र बिधुत उत्पादन भएको नाथले बताए । गुनामौरा रूखको भित्रि भागमा तामाको तार र रुखको बाहिरी भागमा फलामको तार राखेर कनेक्सन गर्दा १९ भोल्टेज बढी विद्युत् उत्पादन भएको हो । ‘धेरै दिनको मेहनत र प्रयासपछि काँचो रूखबाट पनि बिधुत उत्पादन हुने रहेछ भन्ने कुरा पुष्टि भयो,’ नाथले भने, ‘धेरै रूखमा प्रयास गर्दा गर्दा गुनामौरा रूखमा यो परीक्षण सम्भव भयो ।’

संस्थामै अध्ययनरत विद्यार्थीहरूले गत वर्ष आलु र स्याउबाट विद्युत् उत्पादन गरेका थिए । यो वर्ष रूखबाट बिधुत उत्पादन गरेर विद्यार्थीहरूले खोजीको सम्भावनालाई बढाइरहेका छन् । संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले हरेक वर्ष कुनै न कुनै नयाँ गर्ने गरेको संस्थाका कार्यकारी निर्देशक भुवन नाथको भनाइ छ ।