मन्त्रिपरिषद विस्तार: ११ मन्त्री र चार राज्यमन्त्री थपिए

२ चैत, काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६  र माओवादीका ५ मन्त्री थपिएका छन ।

त्यसैगरी ४ राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै बर्तमान सरकारमा २२ सदस्यीय बनेको छ ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएको छ । त्यस लगतै राज्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथ लिएका छन् ।

को-को थपिए मन्त्री ?

ओली सरकारमा एमाले सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री,  अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार मन्त्रालय यस्तै रविन्द्र अधिकारीलाई पर्यटन, रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेल शिक्षामन्त्री, शक्ति बस्नेतले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् । 

लालबाबुको मन्त्रालय फेरियो

यसअघि नै मन्त्री भइसकेका लालबाबु पण्डितको मन्त्रालय हेरफेर भएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

चार राज्यमन्त्री पनि थपिए

शुक्रबार नै चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । एमालेबाट गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेका छन् । सञ्चार मन्त्री नियुक्त नगर्ने र बास्केटाले मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी राज्यमन्त्री बनाइएको हो ।

यस्तै पद्मा अर्याल स्वाथ्य राज्य, धनबहादुर बुढा पर्यटन राज्य र रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छन् । अर्याल र बुढा एमाले तथा चौधरी माओवादी सांसद हुन् ।