रसुवाको गोसाइँकुण्ड,टिमुरेमा गएको पहिरोमा परि ९ जनाको मृत्यु, १२ जना घाइते,केही बेपत्ता भएको आशंका

११ साउन,रसुवा/  रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत स्याफ्रु–रसुवागढी सडकखण्डको वडा नम्बर २ टिमुरेमा बुधबार राति करिब ४ किमि माथिबाट आएको  पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।  केही पुरिएको आशंकामा खोजी भइरहेको छ ।

टिमुरेको टासी देले होटेल नै पहिरोमा पुरिएको छ । त्यहाँ बसेका व्यक्तिको यकिन नभएकाले बेपत्ताको संख्या खुल्न नसकेको रसुवाका डिएसपी सन्तोष तामाङले बताउनु भएको छ ।

उक्त पहिरोमा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, २६ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगले तामाङ, सोही गाउँपालिका ४ का ३७ वर्षीय रेशम खड्का, रसुवा गोसाइँकुण्ड गाउँपालिका १ थुमनका ४५ वर्षीय मिङमार गुम्बु तामाङ, सोही गाउँपालिका २ टिमुरेका ४७ वर्षीय दोर्जे वाङ्जु घले र उनकी श्रीमती ३७ वर्षीया कार्साङ किमु घले छन् ।

यसैगरी नुवाकोट शिवपुरी गाउँपालिका ८ का रमेश तामाङ र विदुर नगरपालिका ३ का शर्मिला कमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी सन्तोष तामाङले जानकारी दिनु भएको छ ।

पहिरोमा ज्यान गुमाउनेहरू टिमुरेका व्यापारी, कामदार र कन्टेनर तथा सुमोका चालक छन् । सडकछेउमा घरटहरा बनाएर व्यवसाय गर्नेहरू पहिरोमा परे । यसैगरी, पहिरो खस्ने समयमा सडकमा रहेका सवारीसाधानसहित चालक पनि पुरिएका हुन् ।

मृतक मध्ये ५ जना कन्टेनर चालक हुन् । घाइते मध्ये ५ जनालाई राजधानी लगिएको छ भने ७ जना स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घर फर्केका छन् । पहिरोले २ वटा टहरा, एक होटल, प्रहरी बिट र तीन वटा माल वाहक कन्टेनर पनि पुरेको छ । लगातार पहिरो खस्न थालेपछि स्थानीय भागेर नजिकैको भन्सार कार्यालय छेउ पुगेका थिए ।

पहिरोले टिमुरेको प्रहरी चेकपोस्ट र टासी देले होटेलसहित चार घर पुरेको छ । यसैगरी, नेपालबाट चीनको केरुङतर्फ सामान लिन जान लागेका तीन कन्टेनर, एक–एकवटा एल्पी ट्रक र टिपर पहिरोले पुरेको प्रजिअ पौडेलले बताए । रसुवा प्रहरीका अनुसार ना।५ख ७००७, ना।२ख ३६६३, ना।३ख ७७२० नम्बरको कन्टेनर, ना।२ख ८६८९ नम्बरको एल्पी ट्रक र एउटा टिपर पुरिएको छ ।

‘निद्रामा थियौं,’ स्थानिय दोर्जे तामाङले भने, ‘पहिले त आवाज सुनेर आत्तियौं, पहिरो भन्ने थाहा भएपछि भागा(भाग भयो ।’ वर्षा भइरहेकाले स्थानीय त्रस्त रहेको रसुवागढी भन्सार प्रमुख गोपाल कोइरालाले बताउनु भयो । ‘खोल्साको माथिल्लो भागमा रहेको ठूलो ढुंगाले पहिरोलाई अर्को दिशामा लगेकाले बाँचियो,’ कोइरालाले भने । सेना, प्रहरी र स्थानीयले राति नै उद्धार सुरु गरेका थिए । अविरल वर्षाका कारण उद्धारमा समस्या भएको छ ।

‘घटनास्थल पुग्दा स्थानीय आत्तिएका थिए,’ कालिजंग गणका सेनानी दिनेश थापाले भने, ‘राति नै उद्धार सुरु गर्‍यौँ ।’ भूकम्प लगत्तै तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार रसुवागढीबाट सञ्चालन हुँदै आएको छ । नाका छेउको उक्त बस्तीमा बसोबास पनि बाक्लिँदै गएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किमि दूरीमा पर्छ । पहिरो घना मुख्य बस्ती तिर नगएकाले अझ थप ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा मृतकका परिवारलाई राहत स्वरूप नेपाल सरकार मार्फत तत्काल जनही १ लाख रुपैयाँ उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनु भएको छ ।

घररटहरा नोक्सानी भएकालाई तत्काल १० हजार र घर बनाउन ५० हजार उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जानकारी दिनु भएको छ । गाउँपालिकाका तर्फबाट पनि मृतकका परिवारलाई ४० हजार रुपैयाँ राहत दिइने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनु भउको छ । रसुवागढी जलविद्युत् आयोजनाको स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

‘पहिरोतिरै दौडिएछु’ :  केशव श्रेष्ठ, आमाछोदिङमो गाउँपालिका–५, थाम्बुचेत

हामी ६ जना थियौं । बुधबार दिनभर घुमेर करिब साढे ११ बजेतिर टासिदेले होटलमा सुत्न गयौं । ओछ्यानमा पल्टिए पनि निद्रा लागेको थिएन । पहिला ठूलो आवाज आयो । भुइँचालो जस्तो लाग्यो । हतार–हतार बाहिर निस्किएँ । माटोको लेदो घरसम्मै आइसकेछ । त्यसपछि झ्याल फोरेर भागेँ । पहिरो खसेको ठाउँतिरै दौडिएछु । लेदोले बगाएर केही तलसम्म पुर्‍यायो । माथि बत्ती बलेको देखेपछि हंसले ठाउँ छोड्यो । कसो–कसो पहिरो छिचोलेर बारीतिर पुगेँ । होटलबाट सँगै निस्किएका साथी कता पुगे, थाहा पाइनँ । अहिले पुनर्जन्म पाएजस्तो लागिरहेको छ । होटलबाट मसहित ६ जना भागेका हौं । काम गर्नेहरू पनि पुरिए होलान् । : कान्तीपुरबाट

चट्याङ परेजस्तो अवाज सहित पहिरो खस्यो : पोक्की तामाङ

राति ११ बजेतिर खाना आएर सुतेँ । केही समयमै चट्याङ परेजस्तो आवाज आयो । जुरुक्क उठेर यताउति हेरेँ । बाहिर हेर्दा माथिबाट मडारिँदै पहिरो खसिरहेको देखेँ । चारपटकसम्म छिमेकीलाई बोलाएँ । तर, कोही बोलेनन् । सुतिरहेका दुई छोराछोरीलाई उठाएर भाग्न खोजेँ । तर, घर तल लडेँ । एउटा ठूलो ढुंगा टाउकोमा आएर बज्रियो । केहीबेरपछि होस खुल्दा थाहा पाएँ, ढुंगाले लागेपछि बेहोस भएछु । छेवैमा दुई छोरीछोरी बाबा–आमा भन्दै चिच्याइरहेका थिए ।

उनीहरूलाई लिँदै अगाडि बढ्दा छिमेकी घरका श्रीमान्–श्रीमती पहिरोमा पुरिएको देखेँ । बेहोस अवस्थामा रहनुभएका श्रीमान् ९देवबहादुर तामाङ० र छोराछोरीलाई पहिरो गएकोभन्दा अर्को ठाउँतिर सिस्नुको झ्याङमा लडाइदिएँ । यही कारण हामी सबै बाच्यौँ । श्रीमान् देव बहादुरको टाउको, कम्मर र खुट्टालगायत अंगमा गम्भीर चोट लागेको छ । : नयां पत्रिकाबाट