जुम्लाको पातारासी गाउँपालिकामा “चुकेनी साना जलविद्युत् आयोजना” निर्माण हुने

परियोजनाको नक्साकंन

१३ साउन,जुम्ला/ ६ नम्बर प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर १ गडीगाउँमा करीब ४२ करोडरुपैयामा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिनु भएको छ ।

आयोजना निर्माणका लागी नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवधन केन्द्रबाट रु २५ करोड ९९ लाख ३ हजार ५४९ बजेट छुट्याइएको छ ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमार्फत यो आयोजना निर्माण हुन थालेको परियोजना इन्जिनियर ब्रिटिश सिंहले जानकारी दिनु भयो ।
इञ्जिनियर सिंहले विद्युत् गृहका लागि रु २६ करोड र ट्रान्समिसन लाइनका लागि रु १० करोड लागत बजेट रहेको बताए । केही प्रतिशत समुदायको योगदान रहने बताउँदै उहाँले अपुग रकम एडिपीको सहयोगमा बैकमार्फत ऋण लिइने बताइएको छ ।

विसं २०६९ देखि पहल थालिएको उक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले योगदान दिने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनु भएको छ ।
“यो आयोजना निर्माण भएसँगै सिंगो जुम्ला उज्यालो हुनेछ । त्यसका साथै जवा खोलाबाट ३०० मेगावाट विद्युत् निकाल्न पहल आरम्भ गरेका छौँ,” आन्तरिक मामिलामन्त्री भण्डारीले भन्नु भयो ।
विद्युत् निर्माण भएमा पातारासी गाउँपालिकाका ३हजार ३२० घरधुरीका करीब १६ हजार जनताले प्रत्यक्ष लाभ लिने जनाइएको छ । उक्त लाइन सदरमुकाम जुम्ला खलंगासम्म ल्याउने तयारी भइरहेको आयोजना निर्माण समितिका अध्यक्ष बुढाले बताउनु भएको छ । रासस