हाम्रो संरचना बुधबार, भदौ ४, २०७६ 4279 Views

नेपालगञ्ज भन्सार कार्यालयको प्रज्ञापन पत्र तथा नक्कली बिल सहित लाखौं रुपैयाको दुध बोकेको ट्रक कंलकीमा पक्राउ, मन्त्रालयबाट छानबीन सुरु,भन्सार प्रमुखलाई मन्त्रालयमा लाइन हाजीर

नेपालगञ्ज भन्सार कार्यालयमा कागजात मिलाएर ठुलो मात्रामा तस्करी, कर्मचारी तथा एजेन्टहरुको गिरोहले एउटै प्रज्ञापन पत्र नम्बरबाट पटक-पटक प्रयोग गरेर ठुलो मात्रामा समान भित्रयाएको प्रमाणित,थप २ कर्मचारी छानबीनमा

नेपालगञ्ज भन्सारमा नक्कली प्रज्ञापन काण्ड: अर्थ मन्त्रालय, भन्सार र राजश्व बिभागबाट सुक्ष्म छानबीन जारी, केही कर्मचारी र समान बोक्ने ट्रक नियन्त्रणमा, केही अभियुक्त ब्यक्तीहरु फरार

२ भदौ, नेपालगञ्ज/ नेपालगञ्ज र भैरहवा भन्सार कार्यालय गेटबाटै कर्मचारी तथा भन्सार एजेन्टहरुको सहयोगमा नक्कली प्रज्ञापन पत्र र बील बनाएर करोडौं राजश्व छली गरि समान आयात गरिरहेको घटनामा सुक्ष्म अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले अभियुक्तहरुको घटना हेरी काठमाडौं, रूपन्देही, पर्सा र बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयबाट नक्कली प्रज्ञापनपत्र र बीलका आधारमा भारतबाट नेपालमा सामान ल्याउन सहयोग गरेको आरोपमा नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्ट सहित ६ जना सरकारी कर्मचारी विरुद्ध राजस्व अनुसन्धान बिभागले मुद्दा दायर गरेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन आचार्य, भन्सार अधिकृत बटु कृष्ण अधिकारी, भन्सार जाँचकी वसन्त कुमार सुवेदी, कम्प्युटर अधिकृत चन्द्र बहादुर क्षत्री, नासु जित बहादुर श्रेष्ठ र भन्सार संकेत निरीक्षक रामबहादुर थापा विरुद्ध राजस्वले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उपरोक्त सरकारी कर्मचारी सहित अन्य गरि २२ जना ब्यक्तीहरुले नक्कली प्रज्ञापनपत्र र बील बनाएर दूध र घ्यु आयात गरिएको मुद्दामा १० करोड २० लाख रुपैयाँ दाबी सहित अभियोग पत्र दायर गरिएको छ ।

गत असार ८ गते हाम्रो संरचना डटकमले नेपालगञ्ज भन्सार कार्यालयमा केही कर्मचारी तथा भन्सार एजेन्टहरुको सुनियोजित मिलेमतोमा करोडौं राजश्व चुहावट हुदै आएको तथ्यहरु सहितको समाचार प्रकाशित गरि बिभागलाई झकझकाएको थियो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार नेपालगञ्ज र भैरहवा भन्सार कार्यालयबाट बिभिन्न ब्यक्तीले सञ्चालन गरेका ब्यापारीक फर्मका नाममा बिभिन्न सामान आयात गर्दा राजश्व चुहावट भएको घटनामा काठमाण्डौं प्रबेश नाकामा पाउडर दुध बोकेको एक ट्रक शंका लागी पक्राउ पछी सम्वन्धीत क्षेत्रका अनलाईन मिडियामा समाचार समेत प्रकाशित भएपछी बिभागले एक उच्च स्तरिय समिति बनाएर सुक्ष्म छानबीन सुरु गरेको थियो ।
छानबीन पछी राजस्व अनुसन्धान विभागले नेपालगञ्ज भन्सारबाट राजश्व छली गरि सामान आयात गदै आएका काठमाण्डौंका व्यापारी विनोद कुमार गुप्ता र उनी संलग्न फर्म तथा कम्पनीहरूबाट भएको राजस्व छलीका २ वटा मुद्दा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनु भएको छ ।

गुप्ता लगायत परिवार सदस्य र फर्ममा संलग्न व्यक्तिहरूमाथि आयकर छली र नक्कली प्रज्ञापन पत्र बनाएको आरोप २२ जना माथि १० करोड रुपैयाँ भन्दा बढीको बिगो मागदाबी छ । सोही किसिमका अन्य घटनाको पनी जानकारी प्राप्त भएकाले अनुसन्धान जारिरहेको मैनालीले बताउनु भएको छ ।

हिमालयन कार्गोका नाममा सामान ढुवानीरपैठारी गर्ने गुप्ता भारतीय नागरिक हुन् । उनले आव २०६५/६६ देखि हरेक वर्ष वार्षिक ५ हजार रुपैयाँ आयकर बुझाउँदै आएका थिए । पछिल्लो तीन वर्ष भने एक रुपैयाँ पनि आयकर नतिरेको विभाग स्रोतले बतायो ।

विभागले उनको खाता अनुसन्धान हुँदा हरेक वर्ष ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार भएको भेट्यो । विभागले गुप्तासहित पत्नी मधुकुमारीविरुद्ध ५४ करोड ४२ लाख ४७ हजार ७५२ रुपैयाँ बिगो र त्यति नै जरिवाना माग गरेको छ । गुप्ता दम्पतीमाथि मात्रै २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७६० रुपैयाँ बिगो र जरिवाना मागदाबी भएको देखिन्छ । उनीहरूमाथि ३ वर्ष कैद हुनुपर्ने मागदाबी अभियोगपत्रमा गरिएको छ ।

गुप्ताले शृंखलाबद्ध रूपमा राजस्व छली र भन्सार चुहावट गरेको थाहा पाएपछि विभागले उनीमाथि निगरानीसमेत बढायो । दूध र घ्युको नक्कली भन्सार प्रज्ञापनपत्र बनाई सामान ल्याउँदै गरेको अवस्थामा उनको गाडी बरामद भयो ।

२३ लाख २० हजार रुपैयाँको उक्त सामान ल्याउन २२ जना संलग्न रहेको विभागको दाबी छ । गुप्ताका दाइ रवीन्द्र र वीरेन्द्र, छोरा राहुल, श्रीमती मधुलाई राजस्वले ४६ लाख ४० हजार रुपैयाँका दरले बिगो र जरिवाना मागदाबी गरेको छ ।

उक्त छलीमा रवीन्द्र वनवारी माता ट्रेडर्समा जोडिएको फेला परेको विभाग स्रोतले जनायो । गुप्ताको फर्ममा काम गर्ने र अन्य सहयोगी गरी १० जना उक्त मुद्दामा मुछिएका छन् । गुप्ता गत असोजमा समेत नक्कली राजस्व स्टिकर सहित पक्राउ परेका थिए ।

तर बन्दी प्रत्यक्षीकरणको निवेदनमार्फत सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले २०७४ असोज १८ मा दिएको आदेशमा उनी रिहा भएका थिए । उनीमाथि वीरगन्जको राजस्व कार्यालयले जरिवाना समेत गरेको थियो ।

त्यसैगरि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय बुटवलले अर्कै व्यक्तिको कागजात लिई फर्म खडा गरी राजस्व चुहावट गरेको आरोपमा ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । भन्सार एजेन्ट नवराज प्रसाद उपाध्याय खनालले कमला रसाइलीको कागजात लिई शिव इन्टरप्राइजेज नामक फर्म खडा गरेको भेटिएको हो ।

उक्त कम्पनीका सञ्चालकमाथि भन्सार चोरी पैठारी, नक्कली भ्याट बिल र झूटा कागजातका आधारमा राजस्व छलेको आरोप छ । रसाइली सामान्य टेलरिङ सञ्चालन गरी बस्ने व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको राजस्वको दाबी छ ।
यो घटनामा एक अर्ब २३ करोड ४५ लाख ५८ हजार ७२८ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूमाथि तीन वर्ष कैदको मागदाबी छ ।
राजस्वले मण्डला अजिमा इन्टरप्राइजेज खडा गरी राजस्व छलेको आरोपमा शशांक खनाल र राजकुमार गुप्तामाथि ६ करोड ७९ लाख ४६ हजार ३१९ रुपैयाँ बिगो मागदाबी गरेको छ । राजस्वले ६ किलो र ३ किलो सुन तस्करीको आरोपमा ५० करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । उक्त घटनामा तेन्जिङ तामाङ, दीपककुमार मौर्यसहित ६ जनालाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान बिभागका कालो हिराको भन्सार चोरी निकासीको आरोपमा ४४ करोड ६५ लाख ४४ हजार रुपैयाँ बिगो मागदाबी गरी रमेश रजक सहित ८ जनामाथि मुद्दा चलाइएको छ ।
छाला उल्लेख गरी मरिचको चोरीनिकासी गरेको आरोपमा सञ्जय अग्रवालसहित ४ जनामाथि ६ करोड ७३ लाख रुपैयाँ बिगो र जरिवाना मागदाबी गरिएको छ । उनीहरूमाथि डेढ वर्षका दरले कैद सजाय हुनुपर्ने राजस्वको दाबी छ । रसुवा र वीरगन्ज भन्सार नाकाबाट सेन्डिल, वाई–फाई राउटर, विभिन्न कपडालगायतका सामानको नाममा एक करोड ८४ हजार रुपैयाँको बिगो मागदाबी भएको छ ।
सुन तस्करी र फोटोकपी मेसिनको राजस्व छलेको आरोपमा राजस्वले करिब साढे ७ करोड रुपैयाँको बिगो मागदाबी गरेर ४ जनामाथि मुद्दा दायर गरेको छ ।