हाम्रो संरचना सोमवार, असार ९, २०७६ 1381 Views
बझाङका धनलक्ष्मी र आनन्दको Pict: : वसन्त प्रताप सिंह

वसन्त प्रताप सिंह
बझाङ,२८ भाद्र/

आर्थिक अवस्था राम्रो नहुदा नहुदै पनि माइत आएकी छोरीलाइ घर फर्किंदा नातिनीको मुख हेरे बापत एउटा बाख्रा दक्षिणा दिए ।
२०६३ माघ महिनाको कुरा हो, बझाङ जिल्लाको थलारा गाउंपालीका वडा नम्बर ६ पिखेतकी धनलक्ष्मी भर्खरै जन्मेकी छोरी लिएर अग्रान्न {माघको महिना छोरीलाई घरमा बोलाएर खुवाउने चलन} खान माइत आएको समयमा घर फर्किदा छोरीलाई नातीनीको मुख हेराईको अवसरमा माईतबाट बाख्रो उपहार पाईन ।

माइतीबाट ल्याएको बाख्रोले ३ महिना पछि ३ वटा पाठी पायो । ती ३ वटा पाठीले पनि माउं संगै ६/६ महिनामा २ देखि ३ वटा पाठा/पाठी पाउन थाले । धनलक्ष्मीका अनुसार “दक्षिणा दिनलाई पैसा नभएर आमाले दिनुभएको बाख्रो मलाई फल्यो ।“

स्थानिय बासिन्दहरुका अनुसर पनि धनलक्ष्मीलाई बाख्रो फल्यो । धनलक्ष्मीको घरमा यसरी चमत्कार हुन थाल्यो कि त्यही माईतीले दिएको बाख्राको सन्तान २ वर्षमै ३३ वटाको सख्यामा पुग्यो ।

बझाङ मालुमेलाकी धनलक्ष्मी रोकायाको कलिलै उमेरमा थलारा पिखेतका आनन्द रोकायासंग २०५३ सालमा विवाह भयो  । दुबै गरिब परिवारमा जन्मिएका बिवाह पछी ५ जना छोरा/छोरीको लालन पालन गर्न धनलक्ष्मी र आनन्द हम्मे–हम्मे भयो ।

गरिबीले झन् च्याप्दै गयो । परिवारको संख्या बढदै गएपछि उनीहरूसंगै बस्दै आएका  आनन्द ४ भाइ सँगै बस्न नसक्ने अवस्थामा पुगे । अलग-अलग भए । अब झन् परिवारको पूर्ण जिम्मेवारी आनन्दकै थाप्लोमा आइलाग्यो ।

आनन्दको दैनिकी बेचैनीले भरिन थाल्यो । “आफू पढ्नु कि छोरा छोरीलाई पाल्नु  !” उनले त्यो बेलाका दु:ख सम्झिए, छोरीहरू पनि पढ्ने उमेरका भइसकेका थिए । उनीहरूको शुल्क तिर्नकै लागि रकम जुटाउन पढाइ छोडेर आनन्द भारत गए।“ विवाह पछिका १० वर्ष उनी ६ महिना घर आएर खेतीपातीको काम गर्थे ६ महिना भारतमै मजदुरी गर्थे ।

माईतीबाट दक्षिणको रुपमा पैसा नभएर उपहार पाएको बाख्राको सन्तान फस्टाउन थालेपछी घनलक्ष्मीका श्रीमान आनन्द पनि भारत जान छाडेर बाख्राकै स्याहारमा लागे । चौथो वर्षमा बाख्राको संख्या बढेर ९७ पुगिसकेको थियो । वर्षमा एक/डेढ लाखका खसी–बोका बिक्री गर्न थालिसकेका थिए ।

अहिले आनन्द वर्षमा कम्तीमा ३ लाखका खसी–बोका/बाख्रा बेच्छन् । १ सय २० बाख्रा उनको खोरमा छन् । “मेरो परिवारको त एउटा बाख्राले गर्दा भाग्य नै फेरियो” आनन्द भन्छन्, “बाख्रा बेचेर छोराछोरीलाई काठमाडौं पढाइरहेको छु । यस्तो दिन पनि आउला भनेर सपनामा पनि सोचेको थिएन ।“

उनले बाख्रा बेचेको रकम भाइको पढाइमा पनि सहयोग गरे । उनका भाइ अहिले नायब सुब्बा पदमा कार्यरत छन् । आनन्दले दाजुलाई व्यापार थाल्न सहयोग गरे । ‘त्यस्तो त कसैको पनि भएको थिएन,’ स्थानीय जगदीश रोकाया भन्छन्, ‘आनन्दको घरमा चमत्कार नै भएको हो ।’ गाउँलेहरूले यसको श्रेय उनकी पत्नीलाई दिने गरेका छन् । गाउँमा सबैले साँच्चिकै धनलक्ष्मीको रूपमा हेर्ने गरेका छन् ।

बाख्राको मलको उपयोग गर्दै अहिले आनन्द दम्पतीले व्यावसायिक तरकारी खेती थालेका छन् । थलारा गाउँपालिकाको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाबाट तालिम र प्रविधिको सहयोग पाएपछि उनले दुई वटा प्लास्टिक घरमा बेमौसमी तरकारी खेती सुरु गरेका छन् । आनन्द दम्पती अहिले आफ्नो टोलका अरूलाई पनि व्यावसायिक तरकारी खेती गर्न हौस्याइरहेका छन् ।

गाउँलेले जे भने पनि धनलक्ष्मी भने लगनशीलता र धर्यले यहाँसम्म पुगेको बताउँछिन् । ‘गरिबीले गाँजेको थियो । त्यो बेला पनि कहिले आत्तिएनौं,’ उनले भनिन्, “अहिले पनि छोराछोरी हुर्काए जस्तो गरी बाख्राका पाठा/पाठी हुर्काउँछौ ।” मेहनत गर्यौं, त्यही फलेको हो ।’ उनले अहिले आफूहरूको जिन्दगीमा दु:खको पाटो हराएको र घरमा आनन्दको बहार छाएको बताइन् ।

बाख्रा पालन सँगै व्यावसायिक तरकारी खेती थालेका उनको बारी र बाख्रा फर्म हेर्नका लागि अहिले छिमेकी गाउँका मानिस पनि आउँछन् । आनन्द र धनलक्ष्मीलाई गाउँपालिकाले अगुवा किसानको दर्जा दिएको छ । उनीहरूलाई बाख्रा पालन र तरकारी खेतीको बारेमा सिकाउनका लागि स्रोत व्यक्तिको रूपमा गाउँपालिकाले परिचालन गर्ने गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनु चयो । कान्तीपुर अनलाईनमा पनि समाचार छ ।