हाम्रो संरचना आइतवार, असार १, २०७६ 109 Views

११ मंसिर,काठमाण्डौं/ लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले तेक्वान्दोको दुई संघलाई विघटनको तयारी सुरु गरेको छ ।
परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघ (नेपाल)को विघटन प्रक्रिया अगाडि बढाएको हो ।

खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई संघबीच विवाद आएपछि संघलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो ।

पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै संघलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ । राखेपले लेखेको पत्रमा दुवै संघ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकुदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ ।

आठौँ राष्ट्रिय खेलकुद आगामी माघ २२ गतेदेखि आयोजना हुने तय भएको छ । राखेपको ११०औँ बोर्ड बैठकले दुई तेक्वान्दो संघलाई आपसी छलफल गरी विवाद समाधान गराउन निर्णय भएको र सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।

अहिले विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाश शमशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् । दुवै संघ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद् स्रोतले जनाएको छ ।

परिषद्का सदस्य सचिव केशवकुमार विष्टले दुवै संघका पदाधिकारीलाई आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दै भने,उहाँहरूबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौँ ।

अझै पनि दुई संघका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौँ । सहमतिका लागि दुई महिना समय दिन सकिने उनको भनाइ थियो । त्यसपछि पनि उहाँहरूले केही निकास दिनुभएन भने हामी दुवै स‌ंघ विघटन गछौँ, परिषद्लाई विघटनको अधिकार छ, राखेप सदस्य सचिव विष्टले भने ।