डडेल्धुरा सदरमुकाममा चौथो पटक आगलागी, १० पसल जलेर नष्ट, १ जना पक्राउ

डडेल्धुरा सदरमुकाममा आगलागी

२३ पुस,डडेल्धुरा/ डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढी स्थित बसपार्कमा आईतबार राती आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् ।

अमरगढी नगरपालीका वडानम्बर ५, बसपार्कमा आईतबार राति करीब १२ बजे आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
आगलागीबाट बसपार्क पिपलचौ तारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेको प्रहरीले जनाएको छ । उक्त आगलागी आईतबार राती नै अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा झण्डै १ घण्टामा आगो नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

डडेल्धुरा सदरमुकाममा करीब ९ दिन अन्तरालमा भएको चौथो पटक आगलागीको घटना भएको हो । यसअघि डडेल्धुराकै ५ वटा पसलमा आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षति भएको थियो।

यसअघिका ३ वटा आगलागिका र आइतबार रातिको आगलागीको प्रकृति एउटै देखिएको प्रहरीले जनाएको छ ।
आगो लगाइएको हुनसक्ने आशंकामा एक किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभएको छ ।