गैर कानुन सम्पती आर्जन गर्नेहरु अख्तियारको पञ्जामा पर्नेक्रम जारि,भन्सारका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठ विरुद्ध १४ करोड भन्दा बढी गैर कानूनी सम्पत्ति आर्जन गरेकोले विशेष अदालतमा मुद्दा दायर

१५ माघ,नेपालगञ्ज/ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,काठमाण्डौंको भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठ विरुद्ध १४ करोडभन्दा बढी गैर कानूनी सम्पत्ति आर्जन गरेको निकोल गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको जनाएको छ ।

श्रेष्ठले भन्सारमा रहँदा सुन तस्करीमा सहयोग लगायत अन्य विभिन्न ु्रोतबाट गैरकानुनी सम्पती आर्जन गरेको भन्दै गरिएको छानबिनको क्रममा करोडौँ रुपैया गैरकानुनी आर्जन गरेको भेटिएपछि मुद्धा दायर गरेको अख्तियारले आफनो फेसबुक पेजमा आधिकारिक सूचनामा जनाएको छ ।

श्रेष्ठ ३३ किलो सुन प्रकरणमा संलग्न रहेको भन्दै कारबाही प्रकृया अघि बढाएपछि २०७३ मंसिर देखि उनी निलम्बनमा छन् । श्रेष्ठले सरकारी सेवा प्रवेशपछि अहिलेसम्म ९ करोड ६३ लाख रुपैयाँ उनको परिवारले वैधानिक रुपमा आर्जन गरेको देखिए पनि लगानीमा त्यसको दोब्बर भन्दा बढी गरेको भेटिएकाले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

श्रेष्ठले आय भन्दा झण्डै दोब्बर १९ करोड ७४ लाख ५५ हजार रुपैयाँ फ्ल्याट, शेयर तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

वैधानिक रुपमा श्रोत खुलेको ९ करोड ६३ लाख रुपैयाँ श्रेष्ठले लगानी गरेको १९ करोड ६३ लाख ५५ हजारबाट घटाउँदा पनि १० करोड ११ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएको छ ।

श्रेष्ठलाई ४ करोड ४९ लाख रुपैयाँ विगो समेत गरी १४ करोड ६१ लाख २४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको अख्तियारले दायर गरेको मुद्धामा उल्लेख छ ।

श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाई रामकृष्ण श्रेष्ठ र भाईबुहारी रविना प्रधानाङ्गको नाममा सम्पत्ती राखेको अख्तियारले जनाएको छ ।

सम्पत्ती जफत गर्ने प्रयोजनमा संलग्न उनीहरुलाई पनि प्रदिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभएको छ ।

अख्तिायरको बिज्ञप्तीमा यस्तो भनिएको छ……

प्रेस बिज्ञप्ति : मिति २०७५/१०/१५ गते
——————————————
आरोप-पत्र दायर गरिएको
—————————-
श्यामकृष्ण च्वामु श्रेष्ठ बिरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर
——————————————————————————
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, काठमाडौंबाट अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धान कारबाहीको सिलसिलामा मिति २०७३/९/२७ देखि निलम्बनमा रहेका सोही कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी यस आयोगमा पर्न आएको उजुरीका सम्वन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट निज श्यामकृष्ण च्वामु श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरे पश्चातको समग्र आय व्ययको विश्लेषण गर्दा –

निजको आम्दानीतर्फ
———————–
२०५३/१२/०५ देखि अनुसन्धान अवधिसम्ममा श्यामकृष्ण च्वामु श्रेष्ठको पारिश्रमिक बचत रू.१८,१६,९४८।-, निज तथा एकासगोलका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा रू.३,४७,७६,४३९।-, ज्ञानकृष्ण श्रेष्ठले अवकाश हुँदा लिएको औषधी उपचार सुविधा रु.३,७३,३६९।-, ज्ञानकृष्ण श्रेष्ठको तलब रु.२०,४६,७०९।८५, ज्ञानकृष्ण श्रेष्ठको पेन्सन रु.१०,३६,९९५।७५, ज्ञानकृष्ण श्रेष्ठले विदेश भ्रमण गरी प्राप्त गरेको रु.६०,२२५।९०, सन्ध्या श्रेष्ठको पारिश्रमिक रु.३,७६,०८१।०५, रामकृष्ण श्रेष्ठको पारिश्रमिक बचत रु.१४,३९,८६७।७५, रविना प्रधानांगको पारिश्रमिक बचत रु.१२,६१,४२१।२२, तारादेवी श्रेष्ठको पारिश्रमिक बचत रु.५,३३,६७५।९०, जग्गा बिक्रीबाट रु.२,७९,७३,६८३।०७, फ्ल्याट बिक्रीबाट रु.१,५७,८७,३२०।- घरबहाल आयबाट रू.३४,००,०००।-, श्यामकृष्ण च्वामु श्रेष्ठले पदमा रहेर प्राप्त गरेको कमिसन रु.९,७८०।७०, सवारी साधनहरु बिक्रीबाट रु.५४,१६,३१०।- समेत गरी जम्मा रू.९,६३,०८,८२७।२० बैधानिक रुपमा आय आर्जन गरेको देखियो।

निजको खर्च तथा लगानीतर्फ
—————————–
२०५३/१२/०५ देखि अनुसन्धान अवधिसम्ममा जग्गा खरिदमा रू.२,४६,३९,३२५।-, घर निर्माणमा रू.३,८६,१५,८८९।१७, अध्ययन खर्चमा रू.१०,६८,४०३।-, नमोबुद्द एग्रो प्रा.लिमिटेड समेतका कम्पनीमा गरेको लगानी रु.५,४७,६८,०००।-, ऋणको सावाँ व्याज भुक्तानीमा रू.३,७४,४४,८०६।५१, सवारी साधन खरिदमा रू.२,२६,१६,०००।-, बैंक मौज्दात रू.८६,१८,२७८।-, घरबहाल कर तिरेको रु.३,५५,४१४।३९, बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर रू.७१,९५०।-, फ्ल्याट खरिदमा रु.९२,२२,७५०।- र शेयर खरिदमा रु.३५,०००।- समेत गरी कुल रु.१९,७४,५५,८१६।०८ खर्च तथा लगानी गरेको तथ्य देखिन आई सो लगानीमा निजको श्रोत खुलेको आय रू.९,६३,०८,८२७।२० घटाउँदा देखिन आउने रु.१०,११,४६,९८८।८८ गैरकानूनी रुपमा आर्जन गरेको र उक्त श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको रु.४,४९,७७,४९०।- समेत गरी कुल जम्मा बिगो रु.१४,६१,२४,४७८।८८ बराबरको श्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आई निज श्यामकृष्ण च्वामु श्रेष्ठले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.१४,६१,२४,४७८।८८ (चौध करोड एकसठ्ठी लाख चौबीस हजार चार सय अठहत्तर रुपैया अठासी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा१५, दफा १६(ग) , तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको तपसिलमा उल्लिखित चल अचल सम्पत्तिहरू साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै निज श्यामकृष्ण च्वामु श्रेष्ठले निजकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू बदनियत साथ राखेको तथा लुकाए-छिपाएको माथि विवेचित आधार कारण र प्रमाणहरूबाट देखिन आएको हुँदा निजहरूको नाममा राखेका स्रोत नखुलेको चल अचल सम्पत्तिहरू साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ तथा दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई र सो चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ, भाईबुहारी रविना प्रधानाङ्ग, श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको छ ।

रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता