कीर्तिपुरमा १ करोड ७५ लाखमा १ दिवसीय प्रधानमन्त्री कप,दर्शकले सिंगल ह्यान्डेड’ क्याच लिएमा नगद ५० हजार पुरस्कार

२२ बैशाख,काठमाडौं/ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेश्रो प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठमा पहिलो साता हुने भएको छ ।

प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगितामा हरेक दिन १ खेल हुनेछ । प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता हुनेछ । १० टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यसमा परिषद्ले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ ।

प्रतियोगिताको पुरस्कारका लागि मात्र करिब ५० लाख रुपैयाँ खर्च हुनेछ । विजेताले २० लाख पाउने छ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक मोटरसाइकल प्राप्त गर्ने छ भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैगरी खेल हेर्न पुग्ने दर्शकलाई ‘सिंगल ह्यान्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलन मै सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

समम्झौता पत्रमा राखेपका सदस्य–सचिव केशबकुमार विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गरे । सम्झौता यसै प्रतियोगिता आयोजना गर्नका लागि रहेको सदस्यसचिव विष्टले बताए । सदस्य–सचिव विष्टले ५० ओभरको खेल नभइरहेका बेला यस्तो प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने धारणा व्यक्त गर्दै पुरस्कारको रकम र मैदानको खर्च राखेपले व्यहोर्न पनि प्रष्ट पारे ।
नेपालय इन्टरनेसनका प्रधानले नेपालले एक दिवसीय मान्यता पाए पनि ५० ओभरको खेल हुन नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीलाई फाइदा पुग्ने बताए । अब नेपालले टेस्ट मान्यता प्राप्त गर्ने तर्फ तयारी गर्नु पर्ने बेला भएकाले नेपालय इन्टरनेश्नलले प्रतियोगिताको सुरुआत गरेको पनि बताए ।