हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 167 Views

१५ जेठ, पोखरा/  गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवस २०७६ को अवसरमा उहाँहरूले आज दिनुभएको शुभकामना सन्देशमा सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

उहाँहरूले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको भन्दै गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिक सम्प्रभुतामा आधारित जीवन पद्धति भएको र यसले हाम्रो समाज, राष्ट्रको भाग्य र भविष्य नागरिकमा निहित छ भन्ने मान्यतालाई स्थापित गरेको बताउनुभयो ।

मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफल बनाउनुपर्ने बताउनुभयो । उहाँहरूले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उक्त आन्दोलनमा योगदान पु-याउनुहुने सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मर्म र भावनाअनुरुप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रगाढ र सार्थक बनाउँदै सङ्घीय व्यवस्थालाई थप संस्थागत र सुदृढ पार्न राजनीतिक दल, नागरिक समाज सङ्गठित भएर सकारात्मक सोचका साथ अगाडि बढ्न आजको दिनबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरी विना कुनै रक्तपात २३५ वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजको दिन नेपालको इतिहासमा विशेष महत्वको रहेको उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको दिनको अवसरमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य व्यवस्था निर्माणको दिशामा अघि बढ्न सबैलाई प्रेरणा पैदा गरोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।