हाम्रो संरचना सोमवार, असार ९, २०७६ 20 Views

१८ जेठ, बाँके / सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबीचको छलफलमा सञ्चालक समितिले सम्पूर्ण रकम फिर्ताको प्रतिबद्धता जनाएको हो । “सहकारीको कार्यालय सञ्चालनमा ल्याएर रकम भुक्तानीका लागि पहल शुरु गर्छु” संंस्थाका अध्यक्ष हरदेव बक्स चौधरीले भन्नुभयो, “वर्षौदेखि कर्मचारीले गर्दै आएको बदमासी पत्ता लगाएर मैले नै अनुसन्धान गरेको हुँ ।

उहाँले आफूले कसैको पनि रकम मर्न नदिन प्रतिबद्ध रहेकाले कार्यालय सञ्चालनमा ल्याइ रकम भुक्तानी शुरु गर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार सञ्चालक समिति, फरार कर्मचारीका आफन्त र प्रतिनिधिमूलक सेवाग्राहीहरुको संयुक्त छलफल गराई रकम भुक्तानीको सुनिश्चितता खोजिएको हो । “एक वर्षभित्र सम्पूर्ण रकम फिर्ता गर्ने कुराको सुनिश्चितता सञ्चालकहरुबाट प्रतिबद्धताका रुपमा आएको छ”, उहाँले भन्नुभयो । उहाँले जनताको रकम डुब्न नदिने कुराको सुनिश्चितताका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिनुभयो ।

सहकारीमा झण्डै रु २६ करोड रकम अपचलन भएको भन्दै निक्षेपकर्ताहरु रकम फिर्ता माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । संस्थाका नायब महाप्रबन्धक गङ्गाधर सुवेदी, प्रबन्धक अरुणकुमार पाठक, कर्जा विभाग प्रमुख लिलाधर ओली र खजुरा शाखा प्रमुख सुरजकुमार विकको मिलेमतोमा उक्त रकम अपचलन गरिएको आरोप छ । फरार उनीहरुमध्ये खजुरा शाखा प्रमुख विकले आफै प्रहरी कार्यालयमा उपस्थित भएर अपचलन गरेको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि त्यसको सुनिश्चितताका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य फरार कर्मचारीहरुको खोजी गरिरहेको प्रहरी सामु परिवारका सदस्यहरुले प्रतिबद्धता जनाएको बताइएको छ ।