हाम्रो संरचना शुक्रबार, अशोज ३, २०७६ 65 Views

१९ जेठ,गलकोट / जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहनुभएका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाइएको विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईँले बताउनुभयो ।

पूर्वविद्यार्थीद्वारा सङ्कलित रु ३५ लाखको लागतमा विद्यालयमा मल्टिमिडिया कक्ष, आधुनिक विज्ञान प्रयोगशाला, ई–पाटी र कम्प्युटर ल्याब स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका अध्यक्ष डा हेमराज शर्माले बतानुभयो । “हामीले विगतमा जुन दुःखले अध्ययन गरे पनि अहिलेका विद्यार्थीलाई यस्तो नहोस् भन्ने हाम्रो चाहना हो”, शर्माले भन्नुभयो, “विद्यालयलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ ।

विद्यालयमा स्थापना गरेको मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याब तथा विज्ञान प्रायेगशाला नियमित सञ्चालनमा ल्याउनका लागि समेत पूर्वविद्यार्थीले रु ५० लाखको अक्षयकोष विद्यालयमा स्थापना गरेको शर्माले जानकारी दिनुभयो । विद्यालयमा स्थापना गरेको अक्षयकोषकोे ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षक व्यवस्थापनसँगै प्रविधिको मर्मतसम्भार गरिने विद्यालयले जनाएको छ । विद्यालयमा हाल एक मल्टिमिडिया सेन्टर, १९ थान कम्प्युटर, ४० थान ई–पाटी तथा नयाँ प्रविधिसहितको विज्ञान प्रयोगशाला रहेको छ । विद्यालयमा स्थापना भएको मल्टिमिडियामार्फत अन्य जिल्लामा नमूना रूपमा परिचित विद्यालयमा अध्यापन भइरहेको समेत प्रत्यक्षरूपमा देखाउन सकिनेछ ।

विद्यालयमा प्रविधि शिक्षा प्रदान गर्नका लागि प्राविधिक शिक्षक तत्काल पठाउने तयारी भएको पूर्वविद्यार्थी सङ्घले जनाएको छ । विद्यालयमा स्थानीय समाजसेवी स्व हिरण्यप्रसाद ढकालको स्मृतिमा उहाँकी धर्मपत्नी जानुका ढकाल र उहाँका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्वारा रु छ करोड २४ लाखको लागतमा १६ कोठे अपाङ्गमैत्री आधुनिक विद्यालयसमेत निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । सुविधासम्पन्न भवनले मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भन्दै पूर्वविद्यार्थीले विद्यालयलाई प्रवधिमैत्री बनाउन सक्रियता देखाएका हुन् । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा हाल ३८८ विद्यार्थी छन् ।