प्रदेश नं ३ को नमूना परियोजना फष्टाउदै

२० जेष्ठ, काठमाडौं । लक्षित वर्गको स्वस्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ प्रदेश नं ३ सरकारले लागू गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफल हुँदै भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको चैत १६ गते हेटौँडा अस्पतालमा उद्घाटन गर्नुभएको थियो ।

सो कार्यक्रमअन्तर्गत अहिले उपचार गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य उपचारसम्बन्धी प्रदेश नं ३ को नमूना परियोजनाका रुपमा रहेको यो कार्यक्रम मकवानपुर लगायत पाँच जिल्लामा शुरु भएको छ । परियोजना अन्तर्गत गरीब, विपन्न, दलित, अपाङ्ग, जनयुद्धका घाइते तथा द्वन्द्वपीडित लगायतका लागि नसर्ने रोगको पहिचान गरिनेछ ।

आर्थिक अभावका कारण लक्षित वर्गको रोग पहिचानमा समस्या हुने गरेको छ । जसकारण उपचारमा ढिलाइ भई युवा अवस्थामा नै ज्यान गुमाउने परेको अवस्था विधमान छन् । रोग पहिचानका लागि शुरु गरिएको यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको सेवाग्राही बताउँछन् । कार्यक्रम शुरु भएको दुई महीनामा हेटौँडा अस्पतालमा करीब ७०० सेवाग्राहीले यो सेवा लिएका छन् ।

अस्पतालका स्वास्थ्यकर्मी अनन्त बाँस्कोटाले यो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि यसलाई यो प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।