हावाहुरीका कारण कैलाली र कञ्चनपुर २ जनाको मृत्यु,९९ जना घाइते :- राष्ट्रीय आपातकालीन केन्द्र

 

२४  जेष्ठ, कैलाली /  बिहिबार सांझ कैलाली र कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रमा आएको हावाहुरीका कारण २ जनाको मृत्युभएको छ भने ९९ जना घाइते भएका छन । घाइते मध्ये १८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । अन्य सामान्य घाइते ८१ जना उपचार पश्चात् घर फर्केका छन ।
बिहीबार बेलुकी हावाहुरीका कारण कैलालीको टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीर बहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

हुरीबतासका कारणले पर्खाल भत्काउँदा  टीकापुर नगरपालिका–२ का पोल्ट्रि फार्म सञ्चालक ४७ वर्षका लहानु डगौरा थारुको मृत्यु भएको छ ।  भत्किएको पर्खालले लागेर घाइते भएका डगौराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पनि हावाहुरीबाट २० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हावाहुरीले बिजुलीको पोल तथा रुख ढलाउँदा केही ठाउँमा यातायात अवरुद्ध भएको छ । कच्ची घरका छाना उडाएका छन् ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको हावाहुरी शुक्रबार  पूर्वतिर सर्दै गएको मौसमविद विभूती पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार केहीबेर हावाहुरी चल्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले एक्कासी हावाहुरी चलेको उहाँको भनाई छ ।

त्यसैगरी बर्दियामा २ जना सामान्य घाइते भएको खबर छ। उता डोटी जिल्लामा चट्याङ लागेर ६ जना घाइते भएको जस मध्ये एकजना गर्भवती महिला गम्भीर रहेको , स्थानीय स्तरमा उपचार भइरहेको  नेपालको राष्ट्रीय आपातकालीन परिचालन केन्द्रले जनाएको छ ।