हाम्रो संरचना शुक्रबार, अशोज ३, २०७६ 65 Views

२६ जेष्ठ, बागलुङ ।  पर्यटकीय लेक घुम्टेस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण भइरहेको छ । सडक नुपगेकाले घुम्टेमा निर्माण सामग्री पु¥याउनै हम्मे पर्छ । खच्चडले बालुवा, ढुङ्गा, सिमेन्ट र फलामका रड दैनिक खेप गर्छन् । करीब तीन हजार १२० मिटर उचाइमा मजदूर काममा खटेका छन् । तलैबाट अन्नपानी बोकेर लगेका छन् । टहरामा रात बिताउँछन् । कठिन परिस्थितिका बीच मन्दिर पुनःनिर्माणले भने गति लिएको छ । पर्यटन मन्त्रालयको रु २० लाख बजेटबाट मन्दिर पुनःनिर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । ‘‘असारभित्रै पुनःनिर्माण सकिन्छ’’ उहाँले भन्नुभयो ।

घुम्टेमा ढुवानी र मजदूर खटाउनु उत्तिकै खर्चिलो छ । ‘‘खच्चडले दिनमा एक खेप मात्र गर्छन्’’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘‘खच्चडको ढुवानीमा मात्र चार लाख खर्च लाग्ने देखिएको छ ।’’ भारीसहित आठ घण्टामा खच्चड घुम्टे पुग्छन् । मानिसलाई पनि उत्तिकै समय लाग्छ । २५ किलो सामग्री बोकेको रु एक हजार ५०० लिन्छन् । निर्माण सामग्री हरिचौर र हिलबाट घुम्टे पुर्याइन्छ । घुम्टे मानव बस्तीदेखि चार घण्टा टाढा छ । ठाडो उकालो चढ्नु पर्ने भएकाले कतिपयलाई बढी समय लाग्छ । सडक नभएपछि पदमार्ग भने व्यवस्थित गरिएको छ । गलकोट नगरपालिकाले घुम्टेदेखि केही तलसम्म सडक पुर्याउने योजना बनाएको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे धार्मिक र पर्यटकीय महत्व बोकेको स्थल हो । वर्षेनी वैशाख पूर्णिमामा घुम्टेमा ठूलो मेला लाग्ने गर्छ । विगत सात वर्षदेखि नयाँ वर्षमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ । घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

द्वापर युगमा पाँच पाण्डव घुम्टेमा वनवास गएको किम्बदन्ती छ । पाण्डवहरुले तपस्यारत बालसिद्धको दर्शन गरेका दिनदेखि घुम्टेमा पूजाआजा हुन थालेको जनविश्वास छ । सदियौँदेखि झुपडीमा रहेका मन्दिरको स्थानीयवासीले २०५६ सालमा स्तरीकरण गरी पक्की बनाएका थिए । २० वर्षपछि तिनै मन्दिरलाई आधुनिक र कलात्मक बनाउन लागिएको हो । दुवै मन्दिर शिखर शैलीमा बन्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । ‘‘चुचुरोमा भएकाले ठूला मन्दिर बनाउन ठाउँ छैन’’ उहाँले भन्नुभयो, ‘‘दुई तले कलात्मक मन्दिर बन्छन् ।’’ गाह्रो लगाउन स्थानीय ढुङ्गा र झ्याल–ढोकामा सालको काठ प्रयोग गरिनेछ । गण्डकी प्रदेशको नयाँ पर्यटकीय गन्तव्य सूचीमा परेको घुम्टेको पर्यटन गुरुयोजनाको काम पनि अघि बढाइएको छ । यसअघि पर्यटन मन्त्रालयकै सहयोगमा पदमार्ग निर्माणलगायतका काम भएका छन् । आउँदो आर्थिक वर्षका लागि पनि पर्यटन मन्त्रालयबाटै रु २० लाख बजेट विनियोजन भएको छ ।

उक्त बजेट पनि पूर्वाधार निर्माणमा खर्च गरिनेछ । घुम्टेलाई सङ्घीय सरकारकै पर्यटन गन्तव्य सूचीमा पार्न पहल भइरहेको सांसद मनकुमारी केसीले बताउनुभयो । घुम्टेको पर्यटन विकास र प्रवद्र्धनमा गलकोट घुम्टे पर्यटन विकास केन्द्रले अगुवाइ गर्दै आएको छ । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । घुम्टेमा रहेको घना जङ्गलमा विभिन्न प्रजातिका गुराँस फूल्ने गर्छन् । गुराँस फुल्ने याममा पर्यटक लोभ्याउन ‘गुराँस उत्सव’ गर्ने गरिन्छ । विसं २०७० मा भएको मैत्रीपूर्ण पर्यटन भेलापछि घुम्टेमा पर्यटकीय गतिविधि बढेका छन् । केन्द्रसँग घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि माग गरिएको छ । बागलुङ सदरमुकामदेखि तीन घण्टा मोटर र चार घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ ।