सामुदायिक स्वास्थ्य एकाइ स्थापना

२९ जेष्ठ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीले सामान्य बिरामी पर्दासमेत औषधि उपचारका लागि पूरै एक दिन हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । ६० घरधुरीको बसोबास रहेको कुइनेगाउँदेखि नजिकको बस्ती मल्कवाङ, पाखापानी र मङ्गले जान र फर्कन पूरै दिन हिँड्नुपर्छ ।

एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको स्थानीय खबहादुर छन्त्यालले बताउनुभयो । कुइनेमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बढी बसोबास छ । भीर र जङ्गलको बाटो भएर स्वास्थ्य संस्था पुग्न सास्ती भएको थियो । स्थानीय विषु छन्त्यालले आधारभूत औषधि उपचार सेवा नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता हटेकामा खुशी व्यक्त गर्नुभयो । उच्च पहाडी क्षेत्रमा अवस्थित कुइनेखानीमा सडकको सुविधा छैन । एकाइ सञ्चालनका लागि गाउँपालिकाले भवन निर्माण र एक अहेवको व्यवस्थापन गरेको छ ।

स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टीकाबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाको रु पाँच लाख अनुदानमा निर्माण भएको स्वास्थ्य एकाइको भवनको मङ्गलबार अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । कुइनेखानीका अतिरिक्त रायखोर, दर्मीजा र मौवाफाँटमा स्वास्थ्य एकाइ र झिँ स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा शुरु गरिएको बताउनुभयो ।