अनियमित बिधुतका कारण नेपालगंजबासीको जनजीवन कष्टकर

२९ जेष्ठ, बाँके । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युतमात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत नियमितताका लागि पहल पनि भइरहेको छ । तर, चर्को गर्मीका बेला विद्युत अनियमितता झन् बढ्दै गएको छ । प्रत्येक वर्ष गर्मीमा हुने अनियमितताको समस्या यस वर्ष पनि समाधान भएको छैन । कहीँकतै मर्मत गर्नुपरे नेपालगञ्ज वितरण केन्द्रले विद्युत अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन । “विद्युत किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन”, नेपालगञ्ज–५ की सुमित्रा भट्टराई भन्नुहुन्छ, “गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ ।

” दिनभर चर्को गर्मी सहने नेपालगञ्जवासी रातिको समयमा अनियमित विद्युतका कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन । “दिनभर गर्मीमा काम गर्छौ, विद्युत गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन”, अटोरिक्सा चालक दिनेश काँदु भन्नुहुन्छ । एक घण्टामा दुई÷तीन पटकसम्म विद्युत काटिने गरेको रुस्तम अली बताउनुहुन्छ । “कम्तीमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो”, उहाँ भन्नुहुन्छ । पूर्वसूचनाविना हुने विद्युत अनियमितताले मेसेनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् । “चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ”, नेपालगञ्ज–१८ का दिपेश आचार्य भन्नुहुन्छ ।

लोडसेडिङको विकल्पमा जेनेरेटर र इन्भटर जडान गरिए पनि लामो समय विद्युत अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने आचार्य बताउँछन् । विद्युत अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो । जेनेरेटरको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी व्यहोर्नुपरिरहेको होटल व्यवसायीको भनाइ छ । नेपालगञ्जका लागि भारत र नेपाल दुवै तर्फबाट विद्युत आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगञ्जमा २४ एमभीएसम्मको विद्युत माग हुने गरेको छ । जसमा १२ एमभीएसम्मको विद्युत भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीले विद्युत अनियमित हुने गर्छ । वर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।

दिनहुँ घण्टौँसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन÷चार घण्टा बत्ती गइरहेको छ । औषतमा यहाँको तापक्रम ४२ डिग्री सेल्सियस आसपास नै हुन्छ । छिटपुट पानी परे पनि वर्षा भएको छैन, स्थानीयवासी गर्मीले आक्रान्त छन् । गर्मी बढेसँगै खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेयपदार्थको व्यापार फस्टाएको छ । गर्मीका कारण आवश्यक कामबाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ‘लु’ चल्ने भएपछि सडकमा मानिसको आवतजावत कम भएको छ । दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ । प्रायःजसो युवायुवती गर्मी छल्न विभिन्न उद्यान, हरियाली स्थानमा पुग्ने गरेका छन् । अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ ।

अन्य मौसमको तुलनामा गर्मीमा ५० प्रतिशतले बिरामीको सङ्ख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् । गर्मीसँगै हावाहुरी र धुलो, सडकपेटी तथा फुटपाथको खाना र फोहर पानीका कारण बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सकले बताएका छन् । भाइरल, झाडापखाला, रुघाखोकी, पिसाब सङ्क्रमण, जलवियोजनलगायतका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक प्रकाश गुप्ताले गर्मीसँगै वर्षायाम शुरु हुन लागेकाले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताउनुभयो । ओपिडी सेवाको लागि मात्र दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । यस्तै बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बैष्णवी, वस्टर्नलगायतका दर्जन बढी अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप उस्तै छ ।

चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा, नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसापिसाब गरिसकेपछि साबुनपानीले हात धुने, सफासुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ । नेपालगञ्जका अस्पतालमा प्रदेश नं ५, साविक सुदूर र कर्णाली प्रदेशका साथै भारतका विभिन्न स्थानबाट पनि दैनिक बिरामी उपचारका लागि आउने गरेका छन् । “तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्”, भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुपानन्द अधिकारीले भन्नुभयो, “भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।” उहाँका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नुलगायतका कारण बिरामीको चाप बढेको डा अधिकारीले बताउनुभयो । गर्मीमा पूरै शरीर ढाक्ने गरी लुगा लगाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन चिकित्सकको सुझाव छ ।