हाम्रो संरचना बिहिबार, कार्तिक २८, २०७६ 81 Views

४ असार, बाँके / दुवै मिर्गौला फेल भएपछि कोहलपुर नगरपालिका–१ कौशिलानगरका हेमन्तसिंह ठकुरीलाई उपचारमा समस्या भएको छ । २८ वर्षीय हेमन्त चार महीनादेखि हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेको दिदी सुमित्राले बताउनुभयो । भाइको स्याहारसुसार गरिहनुभएकी सुमित्राले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । “आर्थिक अवस्था कमजोर छ, उपचार गर्न नसक्दा भाइले मृत्युलाई कुरिरहेको छ”, सुमित्राले भन्नुभयो ।

सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कात्तिकमा पोखरा गएको १७ दिनपछि घाँटीलगायत शरीरका विभिन्न भागमा घाउ देखापर्न थाल्यो । बिरामी भएपछि काम गर्न नसकेर घर फर्किनुभएका हेमन्तको भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो । गत मङ्सिर ७ गते भेरी अस्पतालले दुवै मिर्गौला फेल भएको जानकारी गराएपछि हेमन्तलाई उपचारका लागि काठमाडौँ र भारतको लखनउसम्म लगिएको थियो । उपचारका क्रममा हेमन्तको दुवै मिर्गौला फेल भएको जानकारी अस्पतालले दिएपछि परिवारमा निराशा छाएको छ । परिवारले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेको छ ।

सिलाइकटाइ गरेर जीविकोपार्जन गर्दै आउनुभएकी दिदी सुमित्राले सोही पेशाबाट कमाएको रकम उपचारका लागि खर्च गर्दै आए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । हेमन्त रुँदै भन्नुहुन्छ, “आर्थिक अवस्था कमजोर भएकै कारण बाँच्ने आश हराएको छ । अहिले उपचार गरी मिर्गौला फेर्न आफूसँग पैसा छैन । उपचार गर्नका लागि चिकित्सकले करीब रु २० लाखसम्म खर्च हुने बताउनुभएको छ । अब मृत्यु कुर्नबाहेक केही उपाय छैन । सबैले सहयोग गरिदिए पहिलेकै अवस्थामा फर्किन सक्ने आशा छ, तर मलाई कसले सहयोग गर्ला र ?