हाम्रो संरचना शनिबार, साउन ४, २०७६ 47 Views

६ असार, पोखरा / समाजका असहाय, अपाङ्गता एवं मनोरोगीको उद्धारका साथै पालनपोषण गर्दै आएको मानव सेवा आश्रमलाई एसओएस आमा समूह रामबजारले आर्थिक सहयोग गरेको छ । एसओएस बालग्रामका संस्थापक डा हर्मनमाइनको सयौँ जन्म दिवस एवं बालग्रामको ७०औँ स्थापना दिवसको अवसरमा आश्रमका बुबाआमालाई समूहले एक छाक खाना बराबरको रु १७ हजार ५०० आर्थिक सहयोग गरेको हो ।

पोखरा १५ रामबजारस्थित एओएस बालग्राम गण्डकीमा कार्यरत २५ आमाहरूले व्यक्तिगतरूपमा सङ्कलन गरेको सो रकम एक कार्यक्रमबीच आमा समूहका संयोजक लक्ष्मी बाँस्तोलाले आश्रमका अभियानकर्मी सम्झना बर्र्तौलालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा संयोजक बाँस्तोलाले असहाय बालबालिकाको सेवामा समर्पित आमाहरूले आश्रममा सहयोग गर्न पाउँदा आफूहरूलाई आत्मसन्तुष्टि भएको बताउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित आश्रममा डेढ महीने शिशुदेखि ९० वर्ष उमेर समूहका ९० आश्रित व्यक्ति रहेको आश्रमका सहसंयोजक राजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रममा सात सेवकसेविकाले नियमित सेवा गर्दै आएका छन् । विसं २०७४ चैतमा स्थापित भई सञ्चालनमा आएको संस्थाले हालसम्म खुला आकाशमुनि सडकमा मागिखाने र मनोरोगी २५५ जनाको उद्धार गरिसकेको छ भने तीमध्ये ८० लाई घरपरिवारमा पुनःस्थापना गरिएको जनाइएको छ ।