दुर्घटनामा जलेर दुईको मृत्यु

८ असार, रुपन्देही / रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकलले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो ।

“अझै पनि सनाखत भएको छैन, तर हामीले कोशिस गरिरहेका छौ ”, प्रहरी निरीक्षक मैनालीले भन्नुभयो । अहिले दुवै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।