हाम्रो संरचना शनिबार, साउन ४, २०७६ 42 Views

१० असार, डोल्पा / डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा गाउँपालिकामा तोकिएका बैंकले अझै आफ्ना शाखा स्थापना नगर्दा दैनिक कारोवारका लागि सदरमुकाम बस्नुपरेको हो ।

डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि राष्ट्रिय वाणिज्य बैंकलाई तोकिएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा प्रभु बैंक, काइके गाउँपालिकामा नेपाल बैंकको शाखा विस्तार गर्ने भनिएको छ । सुरक्षाको कारण देखाउँदै बैंक उपल्लो डोल्पाका नमानेको स्थानीय सरकारको प्रमुखले बताएका छन् । बैंक स्थापनाका लागि बारम्बार ताकेता गर्दा बैंकले साल्दाङमा स्थायी प्रहरी चौकी नबसुन्जेलसम्म बैंकको शाखा स्थापना गर्न नसकिने जवाफ दिएको शे–फोक्सुण्डो गाउँपालिका–८ पुग्मका आङबहादुर लामाले बताउनुभयो ।

शे–फोक्सुण्डो गाउँपालिकामा साउनभित्र बैंकको शाखा स्थापना गर्ने प्रभु बैंकसँग सहमति भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकले पनि डोल्पोबुद्ध गाउँपालिकाको धो र छार्का ताङसोङ गाउँपालिकाको छार्कामा बैंक स्थापनाका लागि अध्ययन गर्न जेठ दोस्रो हप्तातिर बैंकको टोली पठाएको थियो । धो पुगेको उक्त टोलीका सदस्यलाई लेक लागेर उद्धार गरी झार्नु परेपछि ती गाउँपालिकामा बैंक स्थापनाको काम झनै अन्योल बनेको डोल्पोबुद्ध गाउँपालिकाले बताएको छ । डोल्पाका आठ स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहमा मात्र बैंक स्थापना भई सञ्चालन भएका छन् ।

ठूलीभेरी नगरपालिकामा नेपाल बैंक लिमिटेड पहिले नै सञ्चालनमा थियो भने त्रिपुरासुन्दरी नगरपालिकामा माछापुच्छे« बैंक, जगदुल्ला गाउँपालिकामा नेपाल बैंक लिमिटेड र मुड्केचुला गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएर काम भएका छन् । बैंक स्थापना नभएका स्थानीय तहको काम हप्ता लगाएर अझै जिल्ला सदरमुकाम दुनै आएर काम गर्नुपर्दा निकै सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् । सङ्घ र प्रदेशबाट आएका विकास निर्माण तथा स्थानीय तहका सम्पूर्ण आर्थिक गतिविधि सञ्चालनका सदरमुकाम दुनै आउनु पर्दा समस्य मात्र भएको छैन, जाँदा सुरक्षाको चुनौतीसमेत थपिएको छ ।