तीन नेताका कारण अड्कीयो संक्रमणकालीन न्याय, दुई अयोग पुनर्गठनमा ढिलाई

१८ असार, काठमाडौं / अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई अयोग पुनर्गठनमा ढिलाई भइरहेको छ ।

संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षा तीन शीर्ष नेताहरुबीच रस्साकसी हुँदा सत्य निरुपण तथा मेलमिलाप अयोग र बेपत्ता छानबिन अयोग तीन महिनादेखि पदाधिकारीविहीन छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ३ महिनाअघि सिफारिस समिति बनेको भए पनि राजनीतिक सहमति नजुटेकाले उसले समेत सिफारिस गर्न सकेको छैन ।

केही अघि प्रधानमन्त्री केपी शर्मा ओलीले यी आयोगमा पदाधिकारी नियुक्ति गर्ने विषयमा सहमति कायम गर्ने जिम्मा शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई दिएका थिए ।

दाहाल र देउवाबीच यसबारेमा पटक पटक छलफल भए पनि सहमति जुटेका छैन । सहमति जुटाउन कांग्रेसका तर्फबाट मीनेन्द्र रिजाल र रमेश लेखक तथा नेकपाबाट सुवास नेम्बाङ र वर्षमान पुन सम्मिलित कार्यदल पनि बनाइएको थियो ।

कार्यदलसहितै देउवा र दाहालबीच बैठक भए पनि कसलाई सिफारिस गर्ने भन्ने निष्कर्ष अझै निस्कन नसकेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।