कहां कहां हुदैछ निर्बाचन : आगामी १४ मंसिरमा हुने उप-निर्वाचनको कार्यतालिका सार्वजनिक

१ कार्तिक, नेपालगञ्ज/ निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उप निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ स्थानका जनप्रतिनिधिका लागि हुने निर्वाचनका लागि आयोगले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

१ जना प्रतिनिधि सभा सदस्य, ३ जना प्रदेश सभा सदस्य र ४८ स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन हुँदैछ ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ कास्की २ र प्रदेश सभा सदस्य तर्फ भक्तपुर १ ‘क’ वाग्लुङ्ग २ ‘ख’ दाङ ३ ‘ख’ मा रिक्त जनप्रतिनिधिका लागि २१ कात्तिकमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिन २२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । २३ गते बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मनोनयनपत्र दर्ता र उजुरीमाथि जाँचबुझ तथा ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

२४ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरिएको छ भने सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

२५ कात्तिकमा ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समयतालिका आयोगले तय गरेको छ ।

स्थानीय तहतर्फ सार्वजनिक कार्यतालिका अनुसार रिक्त ४८ पदमा भने २७ कात्तिकमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नेछन् । ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १ मंसिरमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १४ मंसिर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय आयोगले निर्धारण गरेको छ ।

कहां कहां हुदैछ निर्बाचन ?