हाम्रो संरचना बिहिबार, फाल्गुन ८, २०७६ 97 Views
Photo: Google online

नेपालगञ्ज मानव तस्करहरूले यौन शोषणका लागि नेपाली किशोरीलाई भारतका कोठीमा मात्रै नभई निजी अपार्टमेन्टमा समेत बिक्री गर्न थालेका छन् । पहिले कोठीमा बेचविखन हुने गरेका नेपाली किशोरीहरू अहिले दिल्लीका निजी अपार्टमेन्टमा पनि बिक्री हुँदै आएको माइती नेपालको दाबी छ ।
माईती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रूप लिन थालेको बताएको छ । भारतका विभिन्न कोठीमा यौन शोषणका लागि नेपाली किशोरीको बेचविखन हुने गरेकामा हाल आएर निजी घर तथा अपार्टमेन्ट समेतलाई भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने नौलो तरिका दलालले अपनाउन थालेको माइती नेपालका अध्यक्ष विश्वराज खड्का बताउँनुहुन्छ ।

मानव तस्करले अपनाउने नयाँ नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको उहांले बताउनु भयो ।

सामाजिक सञ्जाल फेसबुक, इमो, ह्रवाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरूपयोग गरी मानव दलालले आफ्नो सम्पर्क संयन्त्रलाई सहज बनाउँदै गएको माईती नेपालका नेपालगन्ज संयोजक केशव कोइराला बताउँछन् ।

माईती नेपालले एक वर्षको अवधीमा बाँकेको नेपाल भारतसीमाबाट नौ सयको हाराहारीमा महिला तथा बालबालिकाको उद्धार गरेको संयोजक कोइरालाले बताए ।

उहांकाअनुसार आधुनिकताको नाममा विलासिता प्रतिको बढ्दो आकर्षणले पनि महिला तथा बालबालिका हराउने, बेचिने र यौन शोषणमा पर्ने गरेका छन् । घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको देखिएको उनी बताउँछन् ।

माइती नेपालले सन् २०१९ को जनवरी देखि डिसेम्बरसम्म देशभरका नेपाल÷भारत सीमानाबाट २ हजार ४ सय ८५ जनाको उद्धार गरेको छ । बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको उक्त संस्थाको तथ्याकंले देखाएको छ ।

रूपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २ सय ४२ जना महिला तथा बालबालिकाको उद्धार भएको छ । एक वर्षको अवधिमा बेचिएका १४ जना सहित २ सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।

माइती नेपालमा सन् २०१९ मा खोजतलास सम्बन्धी ७३ वटा निवेदन परेकोमा २३ जना महिला तथा बालबालिका फेला परेको माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्री बताउँछिन् ।

आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् । खुला सीमा नाकाले बेचबेखिनको उच्च जोखिम बढेको छ ।

भारतीय बाटो भएर कुवेत, साउदी, दुबई लगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको छ । मानव तस्करले महिला र बालबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको देखिएको छ ।सेतोखरिबाट साभार समाचार ।