आइतबारदेखि कर्मचारीलाई क्रमश हाजिर हुन मन्त्रिपरिषदको ४ बुंदे निर्देशन

Photo: File

२७ बैशाख,नेपालगञ्ज/ गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले  कार्यालयमा बढीमा एक चौथाइ कर्मचारीहरु मार्फत् सेवा प्रवाह गर्ने  निर्णय गरे बमोजिम आइतबारदेखि नियमित सम्वन्धीत मन्त्रालयहरुले आफ्ना कर्मचारीहरुलाई काममा हाजिर हुन निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सह–सचिव एवम् प्रवक्ता राजेन्द्र कुमार पौडेलले गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी गराउदै आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने समयमा कार्यालयका आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको  बताउनुभएको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवाका सम्बन्धमा गरेको ४ वटा निर्णयहरु:–

१– बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२– अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गरी सञ्चालन गर्ने ।

३– सार्वजनिक सेवा संचालन गर्ने प्रयोजनका लागि उपत्यकाभित्रका सार्वजनिक निकायका हकमा सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरुको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेका कूल सवारी साधनहरु मध्ये एक चौथाइ संख्यामा नबढ्ने गरी सवारी पास उपलबध गराउने ।

४– ‘उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम् सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।