१७ फागुन,नेपालगञ्ज/ केही दिनअघि नेपालगञ्ज भन्सार नजिकै एउटा ट्रक दुर्घटना भयो । घटनास्थलमा प्रहरी पुगेपछि कागजपत्र हेरियो । त्यसमा सामान पनि थियो । भन्सारको कागजपत्र पनि थियो । तर, ट्रक पल्टिएर छरिएका बोराबाट चामल छरपस्ट थिए भने भन्सारको कागजमा खुदी(कनिका)को राजश्व तिरिएको थियो ।
प्रहरीले त्यो सामानलाई फेरि भन्सारमा लगेन । उसले त्यो सामान अनि ट्रक राजश्व अनुसन्धान कार्यालयलाई बुझाइदियो । त्यसको अनुसन्धानपछि भन्सार गराउने व्यापारीलाई करिब ८ लाख जरिवाना तिर्नुपर्ने देखियो । तर, उनले भन्सारको कागजमा १६ हजार रुपैयाँमात्रै तिरेका थिए । करिब ८ सय बोरा कनिकाको भन्सार गराएको त्यो ट्रकमा ४ सय बोराभन्दा धेरै ब्रान्डेड चामल रहेको प्रहरी बताउँछ ।
भवितब्य दुर्घटना भएर खुदीको भन्सार गराएर चामल भित्र्याउने गरेको रहस्य खुलेको यो पहिलो घटना हो । तर, यस्ता कैयौँ सामानहरु राजश्व अनुसन्धान विभागले पक्राउ गरेको छ, जहाँ एउटा सामानको भन्सार गराएर अरू नै सामान आयात निर्यात गरिएको हुन्छ । राजश्व अनुसन्धान कार्यालय शिबप्रसाद खनालका अनुसार वर्षमा कैयौँ यस्ता समानहरु फेला परेका छन् जसमा कम शुल्क लाग्ने सामानको भन्सार गरिएको हुन्छ । तर, अनुसन्धानका क्रममा धेरै महंगो मूल्यका सामानहरु हुन्छन् ।
यसरी हुन्छ भन्सार छली
नेपालगञ्ज भन्सारबाट दिनहुँ सयौँ गाडी माल सामान आयात निर्यात हुन्छ । तर, औसातमा नेपालबाट निर्यात हुने भन्दा भारतबाट बढी नै सामान आयात हुन्छ । जसका कारण भारतबाट नेपाल प्रवेशको नाकामै रहेको भन्सार कार्यालय अघिको सडक दिनहुँ दुई किलोमीटरसम्म गाडीको लाइन हुन्छ । त्यसमाथि दैनिक कैयौँपटक ओहोरदोहोर गर्ने रिक्सा, मोटरसाइक र साइकल सवारीलाई त अझैँ गहिरो तरिकाले चेकजाँच नै गर्न भ्याइँदैन ।
यही भीडभाड र अस्तव्यस्तता नै भन्सार छली गर्ने सजिलो माध्यम बनेको छ, व्यापारी तथा गाडीका कर्मचारीहरुका लागि । भन्सारमा लाम लागेका सयौँ गाडीका सामान सबै भन्सारका कर्मचारीले एकएक गरेर हेर्न भ्याउँदैनन् । गाडीमा के छ ? भनेर हेरिन्छ । कति परिणाम छ ? त्यो बिलमै उल्लेख हुन्छ त्यसैका आधारमा भन्सारमा राजश्व तिरेर गाडी बाहिरिन्छ । तर, त्यहीँभित्र अर्कै बदमासी हुन्छ ।
कतिपय अवस्थामा गाडीका स्टाफहरुले नै सामान थपेर पास गराउँछन् । अनि एउटा सामानको ठाउँमा अर्कै सामान पनि राखिदिन्छन् । कामको दबावले हतारोमा कर्मचारीहरुलेृ व्यापारी/गाडी स्टाफको भनाइको आधारमा भन्सार रकम बुझिरहेका हुन्छन् । तर, त्यसमै व्यापारीहरुले छली गरिदिन्छन् । ‘सबै गाडीका सामान निकालेर एकएक गरी चेक गर्न सम्भव नै हुँदैन’ राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेका प्रमुख खनाल भन्छन् ‘कहिलेकाहीँ व्यापारीहरुको विश्वासकै आधारमा भन्सार गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा उनीहरुले कर्मचारीलाई गुमराहमा पार्नसक्छन् ।’
सुराकी र गोप्य सूचनाका आधारमा नेपालगन्ज भन्सारबाट पास भइसकेका कतिपय सामानहरुलाई कोहलपुरमा रहेको राजश्व अनुसन्धान कार्यालयले पनि पक्राउ गरेको छ । तर, सधै सबै सामान कोहलपुरकै बाटो भएर जाँदैनन् । नेपालगन्ज भन्सारदेखि करिब २१ किलोमीटर टाढा कोहलपुरमा रहेको राजश्व अनुसन्धान कार्यालयसम्म पुग्दा नपुग्दै सामान कतै ओरालिनसक्छ र, भनिएको सामानहरु पनि फेला नपर्नसक्छन् । र, कतिबेला गस्तीमा रहेको राजश्व अनुसन्धान कार्यालयको टोलीले पनि त्यस्ता सामान नियन्त्रणमा लिएको हुन्छ । अनुसन्धान कार्यालयलाई कसुरको परिणाम हेरेर बिगो जरिवाना, सामान र साधन जफतलगायतका थुप्रै कडा कारबाहीहरु पनि गर्नसक्छ ।
राजस्व अनुसन्धानका क्रममा कम शुल्क लाग्ने सामानको भन्सार गरी महंगोका सामान आयातनिर्यात गरेको तथ्य फेला पर्ने गरेको छ ।
‘हामीले एकदमै गहिरो अध्ययन गरेर मात्रै कारबाही गर्छौँ त्यसैले अनुसन्धान कार्यालयको नियन्त्रणमा आउनु भनेको लगभग कारबाही भोग्नै तयार हुनु हो’ खनालले भने ‘तर, भन्सार भइसकेका सबै गाडीहरु हामी पनि चेक गर्दैनौँ, सबैलाई त्यस्तो गर्ने हो भने त भन्सारको नै विश्वास हुँदैन, हामी सबैले विस्वासमा काम गर्ने हो ।’ उनका अनुसार गोप्य सूचना र सुराकीका आधारमा मात्रै त्यस्ता आशंकित सामान बोकेका गाडीहरुलाई अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ ।
भद्रगोल भन्सार सडक
नेपालगञ्ज जमुनाहा नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयका अगाडि दिनहुँ सयौँ गाडीहरु लाममा हुन्छन् । दुई तिरैको सडक किनारा भन्सार गराउने गाडीकै लामले पूरै जाम देखिन्छन् । जसका कार्यालय आवातजावत गर्ने अन्य सामान्य सवारी र यात्रुहरुलाई समेत सास्ती भइरहेको हुन्छ । त्यस्तो सडकमा ट्राफिक प्रहरीको समेत व्यवस्था छैन ।नेपालगञ्ज भन्सार कार्यालयका अनुसार तेलका ट्याङ्कर आउने दिनमा त्यो सडकमा अलि धेरै भीडभाड हुन्छ । तर, त्यसलाई व्यवस्थित बनाउन प्रयासमा लागिरहेको भन्सार कार्यालय बताउँछ ।
भन्सार गराउने गाडीहरु भारतीय रुपडिहा नाकादेखि नै लाममा हुन्छन् । कतिको पालो त दुई दिनपछि मात्रै आउँछ । राजश्व छलीको अनुसन्धानमा देखिएको यही अस्तवस्तता नै त्यसको प्रमुख कारण पनि हो । भन्सारको पार्किङमा समेत नअटेर चार लेनको सडकमा दुई किलोमीटरसम्म लाम लागेका त्यत्तिधेरै गाडीका सबै सामानहरु चेक/जाँच गर्न भन्सारबाट मात्रै सम्भव छैन ।
नेपालगञ्ज भन्सार प्रमुख जनार्दन आचार्यले भने ‘यत्ति गाडीको लाइन नभए त अनि अनि हामीले कसरी यतिधेरै राजश्व उठाउँछौँ त ? ’ उनका अनुसार भन्सारका लागि लाम लाग्नुपर्ने गाडीहरु जथाभावी पार्किङ हुँदा त्यस्तो समस्या आएको बताउँछन् । ‘यत्तिधेरै लाइन हुन्छ कि, हामीले सबै गाडीका सामान त चेक गर्न भ्याउँदैनौँ नि ? ’ उनले भने ‘त्यसैले केही गरी हामीलाई छलेर गएका गाडीहरु अनुसन्धानले समाउँछ ।’
उनका अनुसार त्यसरी छलिने सम्भावना कमै भएपनि भनसुन र विस्वासका आधारमा काम गरिने भएका कारण छिटफुट राजश्व छली हुनसक्छन् । ‘त्यसैका लागि राजश्व अनुसन्धान विभाग बनाइएको हो, हामीले गर्न नसकेको र हामीलाई छली गरिएको राजश्वको जरिवानासहित तिर्नुपर्छ छल्नेहरुले’ उनले भने ‘हामीले त लाइनमा लागेका गाडीवाल अनि व्यापारीहरुको विश्वासको आधारमा स्ट्याम्पिङ गर्ने र भन्सार गराउनेमात्रै हो, सबै गाडीका सामान त चेक नै गर्न सकिन्न ।’ Gagendra Boharako kalam bat .
suresh । १७ फाल्गुन २०७३, मंगलवार १४:०३