घरेलु हिंसा : लैंगिक समानताको बाधक

मार्च ८ का सन्दर्भमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईरहदा नेपाली श्रमिक महिलाहरुको स्थितिमा अझै उल्लेख्य सुधार हुन सकेको छैन । महिला समानताको आधार शिपयुक्त हात र स्वरोजगार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहदा नेपाली महिलाहरुको आर्थिक सशक्तिकरणको त कुरै छाडौ कतिपय महिलाहरु घर भित्रै हिंसाको शिकार भैरहनु परेको छ ।
अध्ययनहरुले देखाए अनुसार महिला हिंसाका घटनामा भैरहेको बृद्धिले महिला समानतामा निकै नै असर पार्ने गरेको छ । एउटै घरभित्र बस्ने परिवारको कुनै पनि सदस्यले नाता सम्बन्धको दुरुपयोग गरेर सोहि परिवारमा बस्ने अन्य कुनै परिवारका सदस्यमाथि गरिने शारिरीक, मानसिक, आर्थिक, यौनिक र भावनात्मक दुव्र्यवहार जस्ता अन्याय वा अत्याचार पूर्ण व्यवहारहरु घरेलु हिंसा हुन् ।
लिङ्गको आधारमा महिला भएकै कारणले अझै पनि कतिपय महिलाहरु हिंसा सहन बाध्य भैरहेका छन् । यस्तो हिंसा श्रीमान्–श्रीमती, सासु–बुहारी, आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनी, नन्द–आमाजु, काका–भतिजा, भतिजी जोसुकैको बीचमा हुनसक्दछ । तर पनि अध्ययनहरुले महिलाको तुलनामा पुरुषबाट बढी मात्रामा घरेलु हिंशाका घटना घट्ने र त्यो पनि मदिरा सेवनबाट अत्याधिक हुने देखाएको छ ।

मदिरा सेवनले झगडाको बिरु रोल्ने र यसले हिंशा निन्त्याउन समेत सहयोग पु¥याएको हुन्छ ।
लिङ्गको आधारमा महिला माथि हुने हिंसा विश्वव्यापी समस्याको रुपमा रहेको छ । महिलामाथि हुने हिंसा कुनै पनि समुदाय, वर्ग, जात–जाती धर्म, शिक्षित–अशिक्षित, रोजगार–बेरोजगार सबैमा रहेको पाइन्छ । घरेलु हिंसाले महिलालाई अल्पकालिन अथवा दीर्घकालिन दुवै प्रकारका असरबाट प्रभावित पार्दछन् । घरेलु हिंसाबाट पीडित महिला विभिन्न प्रकारका शारिरीक, मानसिक, आर्थिक, यौनजन्य हिंसा तथा प्रजनन जस्ता समस्याहरुबाट पीडित हुने गर्दछन् । नेपालमा पनि महिलामाथि हुने हिंसाको रुप एकदमै भयावह रहेको छ । महिला माथिको हिंसालाई अरु कसैको घरायसी समस्या वा व्यक्तिगत समस्या हो भनेर हामी महत्व दिदैनौं वा सहयोगका लागि अघि सर्दैनौं तर यस्ता वेवास्ताका कारण प्रतिदिन यस्ता हिंसा सहने महिलाको मानव भएर उपभोग गर्ने मानव अधिकार र स्वतन्त्रता गंभिर रुपमा उल्लघंन भइरहेको हुन्छ । जसको असर राष्ट्रको विकासमा समेत पर्ने गर्दछ ।
महिलामाथि हुने घरेलु हिंसाको मुख्य कारण हाम्रो समाजमा परापूर्वकालदेखि जरा गाडेर रहेको पितृसत्तात्मक सोच नै हो । हिंसाबाट सबैभन्दा बढी पीडित हुने स्थान महिलाका लागि घर नै हो । महिला र पुरुष बीचको असमानता, भेदभावपूर्ण कानूनरु, अशिक्षा, अज्ञानता वा चेतनाको कमी, गरिबी, स्वास्थ्य सम्बन्धी समस्या, आर्थिक रुपमा पुरुष वा परिवारप्रति परनिर्भरता, विभिन्न प्रकारका सांस्कृतिक प्रथा तथा मान्यताहरु, यौन असन्तुष्टि, बाल विवाह, अनमेल विवाह, दाइजो प्रथा, तिलक प्रथा लगायत मदिरापानका कारण कैयौ महिला उपर हिंसा भै रहेको पाइन्छ ।
घरेलु हिंसाले महिलाको जीवनको सबै पक्षलाई प्रभावित पार्दछ । जस्तो महिलामा आत्मविश्वासको कमी, एक्लो वा असुरक्षित महशुस, हिनताबोध, तनाव, चिड–चिडापन, निन्द्रा नलाग्ने, खान मन नलाग्ने, निराशापन, यौनसम्बन्ध राख्न मन नलाग्ने, नराम्रो संगतमा फस्न सक्ने, आर्थिक कमजोरी, सामाजिक रुपमा अग्रसर नहुने, अवसरबाट बंचित, अपराधिक मानसिकताको विकास, स्वतन्त्रता माथि बन्देज र आत्महत्या गर्ने जस्ता असरहरु देखिन सक्दछ
घरेलु हिंसामा कस्तो छ कानूनी सजाय ?
कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने कानूनी ब्यवस्था छ । घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कुसुरदारलाई हुने सजायँको आधा सजायँ हुनेछ । घरेलु हिंसाको कसुरमा पहिले सजायँ पाइसकेको व्यक्तिले पुनः सोहि कसुर गरेमा पटकै पिच्छे दोब्बर सजाय हुनेछ । सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले यस ऐन बमोजिमको कसुर गरेमा निजलाई यस ऐनमा व्यवस्था गरिएको दण्ड सजायमा थप दश प्रतिशत सजायँ हुने कानुनी ब्यवस्था रहे पनि सो बमोजिम कारवाही भएको पाईदैन । घरेलु हिंसाको कसुर भए गरेको मितिले ९० दिन भित्रमा घरेलु हिंसाबाट पीडित महिलाले प्रहरी कार्यालय, स्थानीय निकाय गा.वि.स.÷न.पा.÷वडा कार्यालय) राष्ट्रिय महिला आयोग वा अदालतमा उजुुरी दिन सक्नेछिन । पीडितले यी ४ निकाय मध्ये कुनै एकमा उजरुी गर्न सक्नेछ र कुन निकायमा उजुरी गर्ने भन्ने निर्णय हिसाबाट पीडित व्यक्ति आपैmले गर्न सक्नेछ । यसरी उजुरी परेपछि गा.वि.स. वा नगरपालिका वा प्रहरी कार्यालयले दुवै पक्षको मञ्जुरीमा उजुरी परेको ३० दिनभित्र दुवै पक्षबीच मेलमिलाप गराई दिनुपर्छ । यदि मेलमिलाप हुन नसकेमा प्रहरी कार्यालय वा स्थानीय निकाय
(गा.वि.स.वा नगरपालिका) ले उजुर गर्ने व्यक्तिको सहमति भएमा मेलमिलाप गर्ने म्याद (३० दिन) सकिएको मितिले १५ दिनभित्रमा उजुरी र प्रमाण कागजसहित जिल्ला अदालतमा पठाइदिनु पर्छ । पीडित व्यक्ति अदालत गएमा अदालतले पीडित व्यक्तिको संरक्षण गर्न, बसोबास गर्न दिन, खान लाउन दिन, कुटपिट नगर्न, शिष्ट र सभ्य व्यवहार गर्न, गाली बेइज्जति नगर्न, धम्की नदिन, पीडित बसेको ठाउँमा वा बाटो घाटोमा वा कार्यालयमा गई कुनै किसिमको संचार माध्यमबाट दुःख नदिनु भनी घरेलु हिंसा गर्ने व्यक्तिको नाममा संरक्षणात्मक आदेश जारी गर्न सक्छ ।
घरेलु हिंंसा रोकथामका लागी आफ्ना घर परिवारमा महिलाको सम्मान गर्ने उनीहरुलाई पनि समान अवसर प्रदान गरिनु पर्दछ । घरेलु हिंसा र आपूmले जानेका यस सम्बन्धी विषयमा खुलेर कुरा गर्ने, बोलीचालीमा महिलामाथि होच्याउने, यौनजन्य वा कुनै पनि प्रकारका उखानटुक्काको प्रयोग नगर्ने, कसैमाथि घरेलु हिंसा भइरहेको छ भने त्यसलाई अरुको व्यक्तिगत मामला वा समस्या भनेर नजरअन्दाज नगर्ने्, हिंसाबाट पीडित महिलाको समस्या सुन्ने, आफ्ना वरिपरि कोहि हिंसाबाट पीडित छन् भने हिंसा विरुद्ध बोल्न प्रोत्साहन गरिनु पर्दछ । महिलामाथि हुने हिंसाका मुख्य कारणमध्येमा एक कारण यौनजन्य समस्या हुनसक्छन्, यस्ता समस्यालाई महिला हत्तपत्त बताउन चाहँदैनन् । यदि कोहि यस्तो समस्याबाट पीडित भएको थाहा पाउनु भएमा यस्तो समस्या समाधानका लागि श्रीमान् श्रीमतीलाई सम्बन्धित ठाँउ वा अस्पतालमा परामर्श लिएमा समस्याको निराकरण निस्कन सक्दछ ।
नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार सम्वन्धी कानुनहरुमा हस्ताक्षर गरी राष्ट्रिय कानुन समेत बनाइसकेको छ । तर यी कानूनी प्रावधानहरुको कार्यान्वयनका चरणमा देखिएका कमजोरीको कारण पनि महिला हिंशाका घटनाले निरन्तरता पाइरहेका छन् । घरेलु हिंसा नियन्त्रणका लागि कानून र न्यायिक संरचनाको मात्र भूमिका पर्याप्त हुँदैन । राज्यका विभिन्न नीति निर्माण तथा नियमनकारी संस्था लगायत सरोकारवाला निकायको प्रभावकारी भूमिका र ब्यक्तिको पारिवारिक कर्तब्य र दायित्वको पनि उत्तिकै महत्वपुर्ण भूमिका रहन्छ । समाजमा अन्तर्निहित समस्याको उपचार कानूनी प्रबन्धले
मात्रै गर्न सक्दैन । घरेलु हिंसाका घटना बढ्दै जानुमा हाम्रो परम्परावादी न्याय प्रणाली, समाजिक संरचना र बढ्दै गएको विकृत मानसिकता र फेसन जस्तै बनेको मदिरापानले पनि महत्वपुर्ण भूमिका खेलेको छ ।
अन्तमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा, श्रमिक महिलाको कामको उचित सम्मान, संरक्षण, महिला उपर हुने घरेलु हिंसाको अन्त्य, महिला समानता, महिला सशक्तिकरण र उनीहरुलाई आर्थिक सम्पन्न हुन सक्ने वातावरणको सृजना गर्न सकेमा दिवसले तय गरेको महिला समानताको आधार शिपयुक्त हात र स्वरोजगार भन्ने नारा सार्थक हुन सक्दछ । (लेखक अधिवक्ता हुन)