सबै जिल्लामा पाठेघर मुखको क्यान्सर नि:शुल्क परीक्षण

पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ‘भीआईए’ परीक्षण स्क्रिनिङ र क्रायोथेरापी सेवा सरकारले सबै जिल्लामा नि:शुल्क उपलब्ध गराउने भएको छ । यो यस्तो परीक्षण हो, जसबाट वर्षौंपछि पाठेघरको मुखमा क्यान्सर हुने रहेछ भने पनि सुरुवाती अवस्थामै थाहा हुनेछ । रोग लाग्नुअघि नै थाहा पाउन सकिने एक मात्र क्यान्सर पनि पाठेघरको मुखको क्यान्सर मात्र हो । अन्य अंगमा हुने क्यान्सरबारे सुरुवाती अवस्थामा पत्ता लाग्न सक्दैन ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबभन्दा धेरै पाठेघरकै मुखको क्यान्सर हो । यसको उपचार सहज र सस्तो हुने भएकाले परीक्षण गरी सुरुवाती अवस्थामै थाहा पाएमा धेरै महिलाको ज्यान जोगाउन सकिन्छ । ‘यसबाट महिला मृत्युदर समेत घटाउन सकिनेछ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘त्यसैले नि:शुल्क परीक्षणको यो सेवालाई आउँदो आर्थिक वर्षदेखि सबै जिल्लामा विस्तार गर्न लागिएको हो ।

भीआईए अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट पाठेघरको मुखमा आएका परिवर्तनको जाँच गरिन्छ । यो परीक्षणमा स्वास्थ्यकर्मीले महिलाको पाठेघरको मुखमा एसिटिक एसिडको झोल लगाएर त्यहाँ भएको परिवर्तनलाई अवलोकन गर्छन् । दाग वा अन्य दोष देखिएमा ती कोषलाई क्रायोथेरापीको माध्यमले नष्ट गरिन्छ ।

यो थेरापी अन्तर्गत माइनस १३९ डिग्री सेन्टिग्रेट तापक्रममा रहेको तरल कार्बनडायक्साइडलाई पाठेघर मुखमा देखिएको दोषयुक्त कोषमा लगाइन्छ । यसपछि यस्ता खराब कोषहरू पाप्रा बनेर नष्ट हुन्छन् । स्त्रीरोग क्यान्सर विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार यो प्रक्रिया अत्यन्त सामान्य भएकाले यसका लागि कुनै प्रयोगशाला लगायतका अत्यन्त दक्ष जनशक्ति समेत चाहिँदैन ।

यसलाई प्रशिक्षित नर्सले समेत मुलुकमै उपलब्ध संरचनामा राम्ररी गर्न सक्छन् । हाल यो परीक्षण सेवा ४० जिल्लामा उपलब्ध रहेको स्वास्थ्य महाशाखाका निर्देशक डा.नरेशप्रताप केसीले बताए । ‘७५ जिल्लामै पुर्‍याउन थप सय वटा क्रायोथेरापी मेसिन किन्न तयारी भएको छ,’ उनले भने ।

स्वास्थ्यमा नि:शुल्क सेवा 
कतिपय परीक्षण, उपचार र औषधिमा राज्यले नि:शुल्क सेवा दिने व्यवस्था छ । विभिन्नखाले सहुलियत र निश्चित आर्थिक सहयोगको व्यवस्था पनि छन् । तर यो कुरा थाहै नपाएर कयौंले नि:शुल्क सेवाका लागि समेत सकीनसकी जोहो गरेर खर्चेका छन् । कतिपयले खर्चने आँट नभएर उपचारै नगरी समेत बसेका छन् । नि:शुल्क सेवा र सहुलियतबारे सर्वसाधारणले अझै पर्याप्त जानकारी पाउन सकेका छैनन्
पूरै नि:शुल्क
-मृगौला प्रत्यारोपण
-डायलासिस
-बाथ मुटुरोग उपचार र शल्यक्रिया

१२ वटा रोगमा एक/एक लाख
-क्यान्सर
-कलेजो रोग
-सिकल सेल एनिमिया
-थ्यालासेमिया
-एप्ल्यासिक एनिमिया
-हेड इन्ज्युरी (टाउकोको चोटपटक)
-स्पाइनल इन्ज्युरी
-पार्किन्सन
-अल्जाइमर
-मस्तिष्काघात

अन्य सहयोग :
-आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवतीलाई वर्षमा चार पटक चेकजाँच गर्न जाँदा हरेकपटक बाटो खर्च ४ सय रुपैयाँ
-सुत्केरी हुँदा सामान्यमा ७ हजार र शल्यक्रियामा १० हजारसम्म खर्च तोकिएको अस्पताललाई दिइने
-नवजात शिशुमा कुनै जटिलता भए नि:शुल्क उपचार
-विभिन्न औषधिहरू नि:शुल्क